Breaking

क्रिकेटले मा¥यो फड्को, देशव्यापी खुसियाली, खेल हेर्न कोही पर्खाल झुण्डिए, कोही घरको छतमा उक्लिए


काठमााडौँ — १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट हुन पाउँदा मुलपानी क्रिकेट मैदानमा खेलाडीको मुहारमा खुशीको चमक छुट्टै देखिन्थ्यो । यूएईलाई ८ विकेटले हराउँदै विश्वकपको यात्रा तय गरेपछि खेलाडिहरुले खेल मैदान ढोगो भने क्रिकेट प्रेमीहरुको हुटिङले नेपाली खेलाडीलाई थप हौसला थप्ने काम गर्यो । सन् २०१४ सालमा बंगलादेशमा भएको टी–२० विश्वकपमा हङ्कङलाई पराजित गर्दै विश्वकपको यात्रा तय गरेको नेपालले १० वर्षपछि फेरि नेपाली क्रिकेट समर्थकको मन जित्न सफल भएको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट हुन सफल भएको हो ।

एक दशकमा विश्वकपमा सधैं अन्य देशलाई नै समर्थन गर्दै आईरहेको नेपाली क्रिकेट समर्थकले यस पटक भने आफ्नै चन्द्र सूर्य अंकित राष्ट्रिय जर्सी लगाएर देशको झण्डा फहराउने दिन आएको छ । नेपाली क्रिकेटको सफलतामा सधैं झै बाधक बन्दै आइरहेको उही पुरानै चिरप्रतिद्वन्द्वी संयुक्त अरब ईमिरेट्स(युएई)लाई घरेलु मैदान मुलपानीमा आठ विकेटले स्तब्ध पार्दै आगामी वर्ष अमेरिका र वेष्ट ईण्डिजमा आयोजना हुने टी–२० विश्वकपका लागि नेपाल छनोट भएको हो । सधैं विश्वकपको नजिक पुगेर निराश हुनु पर्ने नेपाली क्रिकेटले यसपटक भने सारा नेपालीलाई खुशी हुने मौका दिएको छ ।

टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट लिँदै युएईलाई १३४ रनमा रोक्न सफल भएको थियो । १३५ रनको विजयी लक्ष लिएर जवाफी व्याटिङमा उत्रिएको नेपालले १७.२ ओभर खेल्दै दुई विकेटको क्षतीमा चुनौती पूरा गरेपछि निर्णायक खेलमा देशलाई अविस्मरणीय सफलता दिलाएको हो । देशको समर्थनमा मैदान पुगेका क्रिकेट प्रेमीहरूले खेलाडीको प्रदर्शनमा गर्व महसुस गरिरहेका छन् । देशले जित्दा रमाएका उनीहरू विश्वकपमा पनि यो भन्दा राम्रो नतीजा ल्याउनेमा आशावादी छन् ।

क्यानले ३५ सय मात्रै टिकट बिक्री गरेर घरबाट नै समर्थन गर्न अपिल गरे पनि मैदानमा नै गएर हौसला प्रदान गर्न क्रिकेट प्रेमीहरू पछि परेनन् । समर्थन गर्न मुलपानी पुगेका समर्थकहरू केही घरको छतमा थिए भने कोही पर्खालमा झुण्डिएर नै खेलाडीको मनोबल बढाइरहेका देखिन्थे । के बालक, के युवा फरक क्षमता भएकाहरू पनि मैदानमा नै पुगेका थिए । तर, खाली चौरमा बस्न नै पनि क्यानले नदिएकोमा भने समर्थक असन्तुष्ट देखिन्थे ।

क्रिकेट खेल्न सुरु गरेको दुई दशकपछि नेपालले विश्वकप खेल्ने अवसर दोस्रो पटक पाउँदै छ । तर, राज्यको प्राथमिकतामा खेल र खेलाडी कहिल्यै पर्दैनन् भने आफैले घोषणा गरेको पुरस्कार पनि उधारोबाट नै चलाउनुपर्ने बाध्यता छ । जस लिने होडबाजी चल्छ तर क्रिकेट क्षेत्रको विकासका लागि राज्यको ध्यान जान सकिरहेको छैन । सिमित स्रोत र साधनमै चित्त बुझाएर विश्वकप यात्रा तय गरेकोमा जस मात्र प्रशिक्षक र खेलाडीको मेहनतलाई जान्छ ।

क्रिकेटका ठूला ठूला प्रतियोगितामा नेपालका लागि युएई संधै बलियो प्रतिद्धन्दी बन्दै आएको छ । चाहे त्यो राष्ट्रिय टोलीमा होस् वा उमेर समूहमा नै किन नहोस् । २०२२ मै पनि सिनियर टोलीको दोस्रो पटक टि–२० विश्वकप खेल्ने चाहाना पुरा गर्न नदिएको युएईले १९ वर्षको उमेर समूहको विश्वकपमा पनि लगातार २०२० र २०२२ मा नेपाललाई पछि पारेको थियो । तर, यस पटक भने नेपाली राष्ट्रिय र उमेर दुवै टोलीले युएईलाई पुराना सबै हारको बदला लिन सफल भएको छ ।

एसिया कपमा पनि यएईलाई नै पछारेर भारत पाकिस्तानसँग खेलेको नेपालले १९ वर्षमुनिको उमेर समूहको विश्वकपमा पनि युएईलाई नै स्तब्ध पारेर विश्वकपका लागि श्रीलंकाको टिकट काटिसकेको छ । उमेर समूहमा घरेलु मैदानमा नै गएर युएईले जितिसकेको खेललाई मुखैबाट खोसेर ल्याएको नेपालले राष्ट्रिय टोलीलाई पनि पराजित गर्दै दोस्रो पटकका लागि विश्वकपमा छनोट हुन सफल भएको छ ।