Breaking

पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत


काठमाडौँ– सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ । मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता रेखा शर्माले राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र त्यसपछि जर्मनी र इटालीको भ्रमण गर्ने कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको बताउनुभयो । राष्ट्रपति पौडेल कात्तिक २२ गते भ्रमणमा निस्कनु हुनेछ भने मङ्सिर १ गते स्वदेश फिर्ता हुने कार्यक्रम तय भएको छ ।

त्यस्तै सरकारले अमेरिकाको एटलान्टामा आयोजना हुने १० औँ ’सेसन अफ कन्फ्रेन्स अफ द स्टेट पार्टिज टु द युनाइटेड नेशन कन्भेन्सन एगिनिस्ट करप्शन’ कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ । बैठकले चीनको शाङ्घाईमा सञ्चालन हुने छैटौँ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई स्वीकृत दिएको छ ।