Breaking

ओलीलाई लपेट्दै दुर्गा प्रसाईं, प्रचण्डको निशानामा पर्दै एमाले, भिडाउँदै देउवा


काठमाडौँ — संसदको दोस्रो ठूलो दल नेकपा एमाले चौतर्फी दबाबमा छ । विपक्षी दलहरु एमालेप्रति विगतदेखि नै आक्रामक देखिन्छन । विगतका सहयात्रीले समते औँला उठाइरहेका छन् । आखिर किन उठिरहेको छ एमालेमाथि प्रश्न ? संसदको तेस्रो ठूलो दल माओवादीले सरकारको नेतृत्व गरिरहँदा दोस्रो ठूलो दल नेकपा एमाले प्रमुख प्रतिपक्षको कुर्सीमा छ । सत्तापक्ष भन्दा प्रतिपक्ष एमालेमाथि थेरै प्रश्न उठ्ने गरेका छन् । सत्ता यात्रामा माओवादी धोका खाएको एमालेलाई आफ्नै निवर्तमान केन्द्रीय सदस्य दुर्गा प्रसाईले समेत बाँकी राखेका छैनन् । प्रसाईँले कुनै समय आफ्नै हजुरबुवा भनेका केपी ओलीको कम्बोडियाको एक टेलिकम कम्पनीमा लगानी रहेको पुष्टि गर्ने अभिव्यक्ति दिएपछि एमालेलाई पर्नु पीर परेको छ ।

एमालेको केन्द्रीय सदस्य त्याग गरेर राजावादी अभियान थालेका प्रसाईंलाई एमालेको युवा संगठन युवा संघका कार्यकर्ताले काठमाडौँमा कालोमासे दलेपछि उनी थप आक्रोशित बनेका हुन् । प्रतिक्रियास्वरूप झापामा आयोजित युवा संघको कार्यक्रममा गाडी तोडफोड भएको थियो । सत्तारुढ गठबन्धनले लामो समयदेखि एमालेको आलोचना गर्दै आएको छ । कम्बोडियाको टेलिकम कम्पनीमा ओलीको लगानीबारे उठेको प्रश्नको जवाफ सदनमा दिनुपर्ने सत्तारुढ दलहरूको माग छ ।

एमाले सरकारमा रहेको बेला पशुपतिको जलहरीमा भ्रष्टाचार भएको विषय उठेपछि सदन नै अबरुद्ध हुन पुगेको थियो । तर, पछि माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले उक्त आरोप रेकर्डबाट हटाउने सहमति गरेपछि संसदको अवरोध हटेको थियो ।

आफ्नो नाममा भएको सबै सम्पत्ति राष्ट्रको नाममा दान गरिसकेको र अर्काका लागि भ्रष्टाचार गर्नु छैन भन्ने एमाले अध्यक्ष ओलीको नाम गिरी बन्धुु टी स्टेट, वाईडबडी, ओम्नी लगायतका काण्डमा मुछिने गरेको छ । भ्रष्टाचार र अनियमितताहरुमा मुछिएकालाई बचाउने गरेको आरोप पनि ओलीमाथि लाग्ने गरेको छ । एमाले नेताहरू भने उक्त आरोप ठाडै अस्वीकार गर्छन । आधारहीन आरोप लगाउनेहरूलाई कानुनी कठघरामा उभ्याउनुपर्ने माग एमालेको छ ।

प्रचण्डबाट सहयात्रामा धोका खाएका एमाले नेताहरू बारम्बार सरकार आफ्नो प्रथामिकता नरहेको बताइरहेका छन् । तर, व्यवहारले भने सत्ताको मोह स्पष्ट देखिन्छ । केन्द्रको सत्ता परिवर्तनमा रणनीति फेल खाए पनि कोशी प्रदेशमा भने एमालेले सत्ता गठबन्धनलाई पल्टाइदिएको छ । तर, मुख्यमन्त्रीसँग सुरुमै विवाद देखिएपछि कोशीको झट्काले अन्य प्रदेश र केन्द्रमा तत्काल असर नगर्ने विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ ।