Breaking

रिगललाई आममाफी दिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर,तत्काल पुनः पक्राउ गर्न अदालतको परमादेश


काठमाडौँ– सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न परमादेश जारी गरेको छ । सर्वोच्च अदालतले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो । नेपालगञ्जका चेतन मानन्धरको हत्या आरोपमा पक्राउ परेका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए । त्यसलाई उल्ट्याउँदै सर्वोच्चले निर्णय बदर गरेको हो ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश दिएको हो । संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए । ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी शेर्पाले सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।