Breaking

गुटरेसले हौस्याए प्रचण्ड, शान्ति प्रक्रिया टुंग्याउन ओली फकाउनुपर्ने बाध्यता, के गर्ला कांग्रेस ?


काठमाडौँ — नेपालको शान्ति प्रक्रियालाई सहयोग गर्न तयार रहेको सन्देश दिएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस न्यूयोर्क फर्किएका छन् । अर्थपूर्ण रुपमा हेरिएको महासचिव गुटरेसको भ्रमणबाट राजनीतिक नेतृत्व हौसिएको छ । नेपालको शान्ति प्रक्रिया र जलवायु परिवर्तनको विषयमा स्पष्ट सन्देश दिएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस कार्यथलो फर्किएका छन् ।

चार दिने नेपाल भ्रमणको क्रममा उनले संक्रमणकालीन न्याय प्रक्रिया सहज नभएको, तर यो प्रक्रियामा नेपाल एक्लै नरहेको बताए । संक्रमणकालीन न्यायको केन्द्रमा पीडितलाई राख्न उनले सुझावसमेत दिए । यसका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वसमुदायको ध्यानाकर्षण र विश्वशान्तिमा नेपालको योगदानको प्रशंसा पनि गरे ।

महासचिव गुटरेसले सगरमाथादेखि अन्नपूर्ण क्षेत्रसम्म र पाटनदेखि लुम्बिनीसम्मको भ्रमणसमेत गरे । राष्ट्रपति, प्रधानमन्त्रीदेखि सत्तारुढ दल र विपक्षी दलका नेताहरूको कुरा पनि सुने । महासचिव गुटरेसको नेपाल भ्रमण र संसदको सम्बोधनलाई प्रमुख प्रतिपक्ष दलले महत्वपूर्ण कडीको रुपमा लिएको छ ।

पोर्चुगलको समाजवादी पार्टीको प्रमुख हुँदै प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका गुटरेसले नेपालको शान्ति प्रक्रियाको खुलेरै प्रशंसा गरे । सत्तारुढ दलहरूले शान्ति प्रक्रिया टुंग्याउने काममा अन्तर्राष्ट्रिय समर्थन प्राप्त भएको अथ्र्याएका छन् । विशेषगरी प्रधानमन्त्री प्रचण्ड अझ बढी हौसिएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण पहिलो भने होइन । यसअघि ५ जना महासचिवले नेपाल भ्रमण गरिसकेका छन् । शान्ति प्रक्रियाको काम अघि बढेपछि पनि तत्कालीन महासचिव वान की मुनले सन् २००८ मा नेपाल भ्रमण गरेका थिए । त्यतिबेला पनि नेपाली नेताहरूले ठूलो अपेक्षा गरेका थिए । अहिले पनि अपेक्षा कम छैन ।

शान्ति प्रक्रिया टुंग्याउने मुख्य दायित्य नेपाली राजनीतिक दलहरूकै हो । राष्ट्रसंघले आवश्यक पर्दा सहजिकरण गर्ने मात्रै हो । संक्रमणकालीन न्याय सम्बन्धी कानुन पारित गरेर शान्ति प्रक्रिया टुंग्याउन लागेको सन्देश दिन दलहरू चुके पनि अझै अबसर बाँकी छ । शान्ति प्रक्रियाको बाँकी काममा तत्काल सहमति गरेर विश्व समुदायमाझ विश्वासको वातावरण कामय गर्नुपर्छ । यो प्रक्रियामा महासचिव गुटरेसको भ्रमणले बल नै पुग्ने छ ।