Breaking

बालुवाटारभित्र मुक्का हानाहान, एनआरएनएलाई महेश समूहले बजायो, माओवादी–एमाले भिडन्त मच्चियो


काठमाडौँ — गैरआवासीय नेपाली संघको कार्यालय बालुवाटारमा मंगलबार दिउँसो झडप भएको छ । निर्वाचनको मतपरिणामले उत्पन्न विवादलाई लिएर कार्यालय कब्जा गर्ने नीतिमा दुवै पक्ष अघि बढेपछि हातपात भएको हो । जसले केही घाइते भएका छन् । गैरआवासीय नेपाली संघको महाधिवेशन सुरु भएर सकिएको पनि दुई साता बित्यो । तर नेपाली मुलका विदेशीहरुको नाटकमञ्चन सकिएको छैन ।

मंगलबार झन एमाले निकट युवा संघका नेता कार्यकर्ताहरुले गैरआवासीय नेपालीहरुको केन्द्रीय कार्यालय बालुवाटारमै घुसेर मुक्का बजारेपछि रक्तपातको अवस्था बनेको छ । अर्थात् अध्यक्षमा चुनाव हारेका आरके शर्मा समर्थकमाथि युवा संघको मुक्का परेपछि ओठ काटिएर रगत झरेको छ । बालुवाटारको केन्द्रीय मुकाममा एकछिन ताण्डवनै मच्चिएको छ ।

यसरी ओठमा प्रहार खाएका व्यक्ति ओम शर्मा हुन् । उनी गैरआवासीय नेपाली संघका प्रतिनिधि पनि हुन् । आफुलाई पत्रकार पनि भन्छन् । तर खासमा यीनी आरके शर्माका कार्यकर्ता हुन् । आफ्नै कार्यालयमा एमाले नेता महेश बस्नेत पुगेर भाषण गर्न थालेको देखेपछि यीनलाई चित्त बुझेको रहेनछ ।

सायद रामकुमारी झाँक्रीले भनेजस्तै विफोर कुखुरी काँ आँखाका चेप्रा पुस्न नपाउँदै फेसबुकमा पस्टाई हाल्न फोटो खिचिरहेको देखेपछि युवासंघका कार्यकर्ताले उनीमाथि हातपात गरेका थिए । उनीसहित बुद्धिकुमार सुवेदी लगायतले पनि आफुमाथि हातपात गरेको बताएका छन् ।

यसैपनि जहाँ महेश बस्नेत पुग्छन् त्यहाँ विवाद अवश्यम्भावी बन्छ । अर्थात् एमाले नेता बस्नेत युवा संघका नेता कार्यकर्ता बोकेर मंगलबार दिउँसो गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा नवनिर्वाचित केन्द्रीय कमिटीलाई बधाई दिन गएका थिए । त्यतिनै बेला पराजित समूहको नेतृत्व गरेका स्वःघोषित अध्यक्ष आरके शर्मासहितको समूह कार्यालय कब्जा गर्न पुगेपछि दुवै पक्षबीच विवाद उत्पन्न भएको थियो ।

तर जहाँ पुगेपनि अर्घेलो गर्नैपर्ने आदत परेको युवा संघ नवनिर्वाचित अध्यक्ष बद्री केसीको पक्षपोषणमा उत्रिएर आरके समूहविरुद्ध प्रतिवादमा होमिएपछि कुटाकुटकै अवस्था बनेको हो । आरके शर्मा समूहले पनि वाइसीयल बोकेर केन्द्रीय कार्यालय कब्जा गर्न खोजेको आरोप छ । तर सो घट्नापछि पराजित समूहको नेतृत्व गरेका शर्माले आफुमाथि दुरव्र्यवहार भएको दाबी गरेका छन् ।

यी दुवै समूहबीच अहिले असोज ३० देखि सुरु भएर कात्तिक २ मा सकिएको अन्तर्राष्ट्रिय महाधिवेशनको मतपरिणामलाई लिएर विवाद उत्पन्न भएको छ ।अनलाइन भोटिङमार्फत भएको निर्वाचनमा एमाले निकट बद्री केसी अध्यक्षमा निर्वाचित भएका थिए ।काँग्रेसनिकट महेश श्रेष्ठ र माओवादी निकट राजेन्द्रकुमार शर्मा आरकेले हार ब्यहोरे । तर उपाध्यक्ष लडेका केशव पौडेलको आफैले हालेको मत पनि आएन । शून्य मत देखिएपछि बद्री केसी समूहले अनलाइन भोटिङ सिस्टम नै ह्याक गरि चुनाव जितेको र धाँधली गरेको आरोप आरके समूहले लगाइरहेको छ ।

यो समूहले अहिले बद्री केसीविरुद्ध समानान्तर कमिटी निर्माण गरि अघि बढेको छ । फलतः मंगलबार दिउँसो कार्यालय कब्जा गर्न जाँदा लफडा भएको हो ।यसैपनि गैरआवासीय नेपालीहरुको चुनावमा लफडा नभएको रेकर्ड नै छैन । पार्टीको झोलेभन्दा माथि उठ्न नसक्ने यीनीहरुका यही हर्कतले सुन्दर सपना बोकेर खोलिएको संघकै बेइज्जत हुने काम भएको छ । यीनीहरुको नारा ‘एकपटकको नेपाली सधैंको नेपाली’ छ ।

अर्काे नारा सुरक्षित आप्रवासन र सामूहिक लगानी छ । त्यो भन्दा माथि उठेर उनीहरुले झनै कर्णप्रिय नारा बनाएका छन्, ‘नेपालका लागि नेपाली’ । तर उनीहरु न नेपालीमात्रै भएर बाँच्न सकिरहेका छन् । न भरपर्दाे सामूहिक लगानी नै भित्रिएका छन् । झन जो स्वार्थका लागि मात्रै बाँच्न जानेको छ, त्यो नेपालका लागि कसरी नेपाली हुनसक्छन् । फगत दुईबर्षमा एकचोटी नेपाल आएर महाधिवेशन गर्छन् । लफडा मच्चाएर फर्किनुभन्दा माथिको हैसियत यीनीहरुको छैन ।