काठमाडौँ — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा छन । चार दिन लामो नेपाल बसाईका लागि आइतवार काठमाडौ ओर्लिएका उनी उच्चस्तरीय राजनीतिक भेटवार्ता र पर्यटकीय क्षेत्रहरुको भ्रमणमा व्यस्त छन । महासचिव गुटेरेसको नेपाल बसाईले विश्व कुटनीतिमा नेपालको उचाई पक्कै बढाएको छ । तथापी गुटेरेसको नेपाल भ्रमण र एजेन्डामाथी आशंका सहित विज्ञहरुले प्रश्न भने उठाएका छन । रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ इतिहासको यो प्रसंङ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणसँग ठ्याक्कै मेल खान गएको छ ।
विश्व शान्ति, सौहाद्र्रता, सु–सम्बन्ध कायम गर्न बहुपक्षीय कुटनीति सम्बन्ध कायम गर्ने मञ्चको रुपमा स्थापित संयुक्त राष्ट्रसंघ दुई वर्षदेखि जारी रुस–युक्रेन युद्धमा आफ्नो औचित्य पुष्टि गर्न सकिरहेको छैन । तीन सातादेखि इजरायल–हमास युद्धका कारण पश्चिम एसिया अशान्त छ । निरन्तरको बमवारीले अशान्त पश्चिम एसिया मानवीय संकटको भुमरीमा रहेका बेला सर्वसाधारण न्यायको पखाईमा रहँदा विश्व शान्ति र मानव अधिकारका पक्षमा वकालत गर्ने अन्तराष्ट्रिय मञ्चका महासचिव चार दिन नेपाल घुम्नमा व्यस्त छन । द्धन्दग्रस्त क्षेत्रमा जानुको सट्टा महासचिव एन्टोनियो चार दिन लामो नेपाल भ्रमणमा निस्किए ।
आइतवार नेपाल ओर्लिएका उनी उच्चस्तरीय राजनीतिक भेटघाटदेखि नेपालको उच्चस्थानमा रहेको पर्यटकीय क्षेत्रदेखि शहरको सयरमा छन । युद्धको अन्त्य गर्न असफल अझ भर्नौ निरिह बनेको संयुक्त राष्ट्रसंघ युद्धग्रस्त क्षेत्रमा पुगेर मानवीय संवेदना प्रकट गर्न समेत असमर्थ रहे । गुटेरेसको नेपाल यात्रा यो विषयले सर्वत्र आलोचना केन्द्रित बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामै नेपाल आएका गुटेरेसको एजेन्डामा नेपालको शान्ति प्रक्रिया छ ।
नेपाल शान्ति प्रक्रिया घरेलु मामिला बनिसकेकाले शान्ति प्रक्रियाका बाकी काम टुङग्याउने विषयमा दवाव दिन नमिल्ने परराष्ट्र मामिलाका जानकारहरुको तर्क छ । शान्ति प्रक्रिया नै भ्रमणको एजेन्डा बन्नु शंकास्पद भएको उनीहरुको तर्क छ । गुटेरेसको नेपाल यात्रा राष्ट्रिय स्वार्थभन्दा दलगत स्वार्थलाई प्राथमिकतामा राखिएको विश्लेषण हुन थालेको छ ।
१५ वर्षपछि संयुक्त राष्ट्रसंघको महासचिवको नेपाल यात्रा आफैमा महत्वपूर्ण छ । महासचिव गुटेरेसको नेपाल यात्रा उच्चस्तरीय भेटघाट र विभिन्न पर्यटकीय स्थलको भ्रमणले विश्व कुटनीतिमा नेपालको साख समेत बढाएको छ । शान्ति प्रक्रियासँगै जलवायु परिवर्तनको असरवारे बुझ्न नेपाल आएका उनी मानवीय क्रियाकलापका कारण भएका परिवर्तनको अवलोकन र विश्लेषण गर्न अन्नपूर्ण बेसक्याम्प पुगे ।
विश्वलाई थाह भएको अझ प्रभावकारी बन्न सक्ने विश्वको सर्वोच्च शिखर सगरमाथा बेसक्याम्प नगई महासचिव गुटेरेसको राजाईमा अन्नपूर्ण बेसक्याम्प कसरी गन्तव्य बन्यो यसले दिने सन्देश कति प्रभावकारी होला यसतर्फ पनि धेरैको ध्यान खिचेको छ । तथापी जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव नेपाली जनजीवनमा कसरी परेको छ भन्ने विषयमा महासचिवको ध्यानकर्षण गराउन सक्नुपर्ने विज्ञहरुको तर्क छ ।
बहुपक्षीय कुटनीति सञ्चालनको महत्वपूर्ण मञ्च संयुक्त राष्ट्र संघ आफै पछिल्लो समय शक्तिशाली राष्ट्रहरुको स्वार्थले शिथिल बन्दै गएको छ । साना–ठूला तथा शक्ति सम्पन्न र विपन्न सबै मुलुकको सार्वभौमसत्ताको पूर्णरूपमा स–सम्मान गर्दै सबैलाई उचित सम्मान प्रदान गर्न विषय झन झन गौण बन्दै गएको छ । फलत संयुक्त राष्ट्रसंघको औचित्य नै संकट उन्मुख छ ।
प्रतिक्रिया