देश

जताततै दुर्घटना, एकै परिवारका पाँचसहित ८४ जनाको मृत्यु, मुख्य कारण के ?


काठमाडौँ — नेपालमा हुने मानवीय क्षतिको महत्वपूर्ण कारण गाडि दुर्घटना रहँदै आएको छ । अझ यात्रुको उच्च चापले गाडिको संख्या र आवागमनमा ह्वात्तै वृद्धि हुँदा विशेषतः दशैमा दुर्घटना बढी हुने गर्दछ । यो वर्ष दशैमा तुलनात्मक रुपमा मानवीय क्षति कम भए पनि देशका विभिन्न ठाउँमा दुर्घटनाभने भए । काठमाडौं उपत्यकामा घटस्थापनाको दिनदेखि शुक्रवार दिउँसोसम्म ३ सय ४३ वटा सवारी दुर्घटना भएका छन् ।

उपत्यकाको विभिन्न स्थानमा भएको दुर्घटनामा ३ जनाको ज्यान गएको उपत्यका ट्राफिक प्रहरी कार्यलयको तथ्यांकले देखाउँछ । यो तथ्याङक गत वर्षको भन्दा कम हो । गत वर्षको दशैंमा दुर्घटनामा परी १० जनाको ज्यान गएको थियो । तिव्र गतिमा गाडि चलाउने, जाँड–रक्सी खाएर गाडि चलाउने, लेन अनुशासन पालना नगर्ने लगायत मानवीय लापरवाहिका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तर्क छ ।

काठमाडौं उपत्यकामा घटस्थापनादेखि शुक्रवार दिउसोसम्म तिव्र गतिमा गाडि चलाउने ४ हजार ८२, मादक पदार्थ सेवन गरी गाडि चलाउने १२ सय ६१ लागु पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलगायत ट्राफिक नियमको उल्लंघन गर्ने १९ हजार सवारी साधन प्रहरी कारबाहीमा परेका छन् । उपत्यकामा गत वर्षको तुलनामा यो वर्ष दुर्घटना कम भएको छ । तर देशभरको दुर्घटनाको तथ्याङ्क भने गत वर्षको तुलनामा लगभग उस्तै देखिन्छ ।

बिहीबार मात्रै देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् । कार्तिक ५ गते पाल्पाको तानसेनदेखि रानीमहल जाने क्रममा बैकुण्ठे भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भयो । ७ गते भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भए । घटस्थापनादेखि शुक्रवारसम्म दुर्घटनामा परी ८४ जनाको ज्यान गएको छ । ३ सय ३५ जना गम्भिर घाइते छ भने ११ सय ५५ साधारण घाइते भएको प्रहरीले जनाएको छ । देशभर एक हजार भन्दा बढी सवारी साधन दुर्घटनामा परेका छन । गत वर्ष यहि दशैको अवधिमा ९ सय ३२ सवारी दुर्घटना हुँदा १ सय ७ जनाले ज्यान गुमाएका थिए ।

पछिल्लो पाँच वर्षमा सडक दुर्घटनामा देशभर झन्डै १३ हजार ज्यान गएको छ भने झन्डै ८० हजार मानिस घाइते भएको प्रहरीको तथ्याङ्क छ । गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट देशभर दुई हजार आठ सय ८३ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७८/७९ मा दुई हजार तीन सय ७६ रहेको छ । नेपालमा बार्षिक सरदर झन्डै तीन हजार बढी मानिसको ज्यान जाने गरेको छ ।