Breaking

नेकपा नेता धर्मेन्द्र बाँस्तोला ९ दिनदेखि हिरासतमा


काठमाडौँ – नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी)का प्रवक्ता धर्मेन्द्र बाँस्तोला नौ दिनदेखि प्रहरी हिरासतमा छन् ।

नेता बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि सवारी ज्यान मुद्दाको अनुसन्धानका क्रममा उनी दाङस्थित इलाका प्रहरी कार्यालय भालुबाङ्गको प्रहरी हिरासतमा राखिएका हुन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कात्तिक २ गते राति पौने १० बजेतिर राप्ती गाउँपालिका-५ सिङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियो गाडीले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दशैं मनाउन सुर्खेत जानेक्रममा बाँस्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।

घटनालगतै प्रहरीले नेता बाँस्तोलालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । कात्तिक २ गतेयता उनी उक्त घटनामा प्रहरी हिरासतमै भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले बताए ।

दशैं बिदाका कारण कात्तिक १२ गते मात्रै कार्यालय खुल्ने र त्यसपछि मात्र अदालती प्रक्रियाको काम सुरु हुने भएकाले नेता बाँस्तोलाले अझै केही दिन प्रहरी हिरासतमा बस्नुपर्ने अवस्था रहेको उनले बताए ।