Breaking

शीर्ष नेताको टीका, धेरैलाई जुठो, शीतलनिवास र निर्मलनिवासको रौनक


काठमाडौँ — उच्च पदस्थ व्यक्तित्व कोहीले यस वर्षको दशैंको टीका लगाए भने केहीले पारिवारिक सदस्यको बियोगमा रहेकाले टीका लगाएनन् । राष्ट्रपति र पूर्वराजाले आफूले टीका ग्रहण गरेपछि सर्वसाधारणलाई समेत टीका लगाइदिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतनिवासमा आफ्नी ९१ वर्षिया भाउजु विष्णुमाया पौडेलबाट दशैँको टीका, जमरा, प्रसाद र आशीर्वाद ग्रहण गरेका छन् । शीतल निवासमा रहेको राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले दशैँको शुभ साइत ११ बजेर २ मिनेटमा टीका जमरा ग्रहण गरेका हुन् । आफूले टीका ग्रहण गरेपछि राष्ट्रपतिले परिवारका सदस्यलाई टीका लगाई दिए । यस वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीका लगाएनन् ।

पत्नी सिता दाहालको तीन महिना अघि निधन भएका कारण उनको परिवारले दशैं मनाएन् । यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले परिवारका साथ काठमाडौंमै टीका लगाएका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि ठूली आमाको निधन भएका कारण टीका लगाएनन् । तैपनि दशैंको बेला झापा पुगेर ओलीले पारिवारीक भेटघाटका व्यस्त रहे । यता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भाईको निधन भएका कारण टीका लगाएनन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ९४ वर्षीय पिता भोजप्रसाद भट्टराईबाट टीका लगाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दाजु हरिशरण लामिछानेको हातबाट टीका ग्रहण गरेका छन् । एमाले महासचिव शंकर पोखरेलले दाजु भाउजुको हातबाट टीका ग्रहण गरेका छन् । कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले ७७ वर्षिय पिताको हातबाट टीका ग्रहण गरेका छन् । यस्तै एमालेकै अर्का नेता तथा पर्व मूख्यमन्त्री शेरधन राईले बुवा आमाको हातबाट टीका ग्रहण गरेका छन् ।