विदेश

अमेरिका र बेलायतपछि फ्रान्स पनि हमासविरुद्ध, ठूलो युद्ध हुने संकेत


काठमाडौँ — इजरायल र हमासबीचको युद्ध १८ औँ दिन पनि जारी छ । दुबै देश गरि कम्तिमा ६ हजार ४ सय जनाको मृत्यु भएको छ भने यो युद्धले क्षेत्रीय युद्धको रुप लिन सक्ने सम्भावना पनि बढेको छ । यता जारी युद्धकैबीच फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन इजरायल पुगेका छन् । म्याक्रोनले हमासद्वारा बन्धक बनाएका इजरायलीहरूलाई मुक्त गर्न र हालको द्वन्द्वलाई बढ्नबाट रोक्न मद्दत गर्ने प्रस्ताव पनि राख्ने भएको छ ।

इजरायल र हमासबीचको १८ दिन लामो युद्ध अब ठूलो युद्धमा परिणत हुने संकेत देखिएको छ । इजरायल–हमास युद्ध लम्बिँदै जाँदा विश्व नै दुई ध्रुवमा विभाजित देखिएको छ । यो युद्धले क्षेत्रीय युद्धको रुप लिन सक्ने सम्भावना पनि बढेको छ । विश्वयुद्धको त्रासले जनमानसको मथिंगल तताएको छ । इजरायलले गाजामाथिको आक्रमणलाई निरन्तरता दिइरहँदा इरानले प्यालेस्टिनीविरुद्धको आक्रामण नरोकिए मध्यपूर्वका अन्य पक्ष पनि यसमा संलग्न हुन सक्ने चेतावनी दिएको छ । उसको इसारा लेबनानको लडाकु समूह हजबुल्लाहतर्फ भएको हुन सक्ने बताइएको छ ।

इजरायलको सीमा उत्तरतर्फ लेबनानसँग जोडिएको छ भने हमास र हजबुल्लाह दुवै समूहलाई इरानको समर्थन छ । इजरालयले गाजामाथि आक्रमण जारी राख्दा लेबनानका हेजबुल्लाहका तर्फबाट पनि इजरायलमा छिटपुट आक्रमण भएको छ । इजरायलले पनि हेजुबुल्लाह लक्षित आक्रमण गरेको छ । लेबनान पुगेका इरानका विदेशमन्त्री हुसेन अमिरले आफ्ना कार्यवाहक समकक्षी अब्दल्लाह हबिबसँगको भेटवार्तापछि इजरायललाई चेतावनी दिइसकेका छन् ।

इजरायल हमास युद्ध सुरु भएपछि जसरी अमेरिकी विदेशमन्त्रीले मध्यपूर्वका देशहरुमा राजनीतिका भ्रमण गरेका छन् त्यसरी नै इरानी विदेशमन्त्री पनि सक्रिय छन् । यसबीचमा इरानी विदेशमन्त्री हुसेनले कतार पुगेर हमासको राजनीतिक ब्युरोका अध्यक्ष इस्माइल हनियेह र कतारका अमरि सेख हमाद अल थानीसँग भेटवार्ता गरिसकेका छन् । उता अमेरिकाले यसअघि नै इरानलाई इजरायल–हमास युद्धमा संलग्न नहुन चेतावनी दिइसकेको छ ।

यता युद्ध जारि रहँदा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन इजरायल पुगेका छन् । म्याक्रोनको यो भ्रमणको उद्देश्य इजरायलसँग फ्रान्सको ऐक्यबद्धता देखाउनु हो । म्याक्रोनले हमासद्वारा बन्धक बनाएका इजरायलीहरूलाई मुक्त गर्न र हालको द्वन्द्वलाई बढ्नबाट रोक्न मद्दत गर्ने प्रस्ताव पनि राख्ने उनका सल्लाहकारले जानकारी दिएको अन्तराष्ट्र सञ्चार माध्यमले जनाएको छ ।

यस भ्रमणका क्रममा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु राष्ट्रपति इसाक हर्जोग र विपक्षी दलका नेता बेनी गान्ट्ज र यायर ल्यापिडसँग भेट गर्नेछन् । यता पछिल्लो समय प्यालेस्टाइन विद्रोही समुह हमासले इजरायलमा आक्रमण गरी बन्धक बनाएका दुई सय बढी नागरिकमध्ये थप दुई महिलालाई अपहरण मुक्त गरेको छ । अपहरण मुक्त भएका दुवैजना इजरायली वृद्ध महिलाहरु हुन् ।

दुवैजनाको स्वास्थ्य स्थिति कमजोर भएपछि उनीहरुलाई रिहा गरिएको हमासले जनाएको छ । हमासका सैन्य इकाई प्रवक्ता अवु उबैदाका अनुसार गत सातानै उनीहरुलाई रिहा गर्ने निर्णय गरिएपनि इजरायल सरकारले बन्धक बनाएका सम्पुर्णलाई एकसाथ रिहा गर्नुपर्ने शर्त अघि सारेपछि हमास पछि हटेको हो । यसअघि हमासको कब्जामा रहेका दुई अमेरिकी महिलालाई रिहा गरेको थियो ।

गत असोज २० गते हमासले इजरायलमाथि आक्रमण गरी स्वदेशी र विदेशी गरी २ सय २० नागरिकको अपहरण गरेकोमा इजरायलले हमास समक्ष उनीहरुलाई अपहरण मुक्त गर्न बारम्बार गरेको प्रयासलाई भने हमासले अस्वीकार गर्दै आएको छ । पछिल्लो समय इजरायले गाजापट्टीमा पुरै घेराबन्दी गरेपनि स्थलगत आक्रमण भने गरेका छैन ।

इजरायलले हमासमाथि स्थलगत रुपमा आक्रमण गरेमा बन्धक बनाएकाहरुको हत्या गर्ने धम्की दिएपछि इजरायल भने हेरेर बस्नु पर्ने बाध्यता छ । अक्टोबर ७ बाट हमास समुहले युद्धको बिगुल फुकेर इजरायललाई लडाँईको मैदानमा निम्तो दिएका यी दुई देशको युद्धमा कम्तिमा ६ हजार ४ सय जनाको मृत्यु भएको छ ।