Breaking

धेरै शीर्ष नेताको छैन् टीका, कम्युनिष्ट नेताले टीका नलगाउने, प्रचण्ड–माधवलाई शोक


काठमाडौँ — राजनीतिक दलका नेताहरू पनि दशैँको रौनकमा छन् । राष्ट्रपति, सभामुखलगायत नेताहरूले साइतमै टीका र जमरा ग्रहण गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्धय एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भने यस वर्ष दशैँको टीका छैन । राजनीतिक दलका नेतालाई पनि दशैँले छपक्कै छोपेको छ । दशैँ नेताका लागि कार्यकर्तासम्म पुग्ने एउटा अवसर पनि बनेको छ । यो अवसरलाई नेताहरुले भरपुर सदुपयोग गर्दै आएका छन् । प्रायः सबै पार्टीका नेताहरूले शुभकामना आदानप्रदान गर्दै आएका छन् ।

दशैँले कार्यकर्ता र निर्वाचन क्षेत्रका जनता भेट्ने अवसर पनि जुटाउने गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शिलत निवासमै साइतमा टीका र जमरा ग्रहण गर्ने छन् । त्यसपछि उनले इच्छुक विशिष्ठ व्यक्तित्वलाई २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ । राष्ट्रपति कार्यालयले प्रवेशद्वार नम्बर १ बाट मर्यादित पोशाकमा टीका ग्रहणका लागि सहभागी हुन आव्हान गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि निवासमै दशैँ मनाउँदै छन् । उनले सर्वसाधारणलाई समेत टीका लगाइदिने छन् । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि काठमाडौंमै दशैँ मनाउदै छन् । विजयादशमीका दिन देउवाले परिवारमै टीकाटालो र नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने तालिका रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र अर्का पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भने यस वर्ष टिका छैन ।

प्रधानमन्त्री प्रचण्डकी पत्नी, एमाले अध्यक्ष ओलीकी ठूलीआमा र एकीकृत समाजवादीका अध्यक्ष नेपालका भाइको यसैवर्ष निधन भएको थियो । पारिवारिक शोकका कारण दशैँको टीकाटालो नहुने प्रचण्ड, ओली र नेपालको सचिवालयले जनाएको छ । ओली र नेपालले आ–आफ्नो गृह जिल्ला पुगेर काठमाडौं फर्किसकेका छन् । शोकका कारण आफुले टीका नलगाउने भए पनि नेताहरूले शुभकामना भने दिएका छन् ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हृदयघातका कारण चीनमा उपचाररत छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाको दशैँ पनि विदेशमै बित्ने भएको छ । सभामुख देवराज घिमिरेले भने निवासमै दशैँको टीका लगाउने छन् । रास्वपा सभापति रवि लामिछानेले गृहजिल्ला काभ्रे पुगेर दशैँको टीका लगाउने छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि गृहजिल्ला झापामै दशैँ मनाउँदै छन् ।