Breaking

तलेजु मन्दिरमा भक्तजनको भीड, वर्षमा एक पटक दर्शन गर्न स–परिवार भवानीको शरणमा


काठमाडौँ — महानवमीका दिन मात्रै सर्वसाधारणका लागि खुल्ने हनुमान ढोकास्थित तलेजु भवानीको दर्शन गर्न दर्शनार्थीहरू सपरिवार मन्दिर पुगेका छन् । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकको रूपमा मनाउने दशैंको नवौं दिन एक दिनमात्रै खुल्ने हुँदा तलेजु भवानीको मन्दिरमा सोमबार बिहानै देखि भक्तजनको भीड लागेको हो । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर महानवमीको अवसर पारेर सोमबार सर्वसाधारणका लागि खुला गरिएको छ । वर्षमा एक पटक मात्र खुल्ने भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।

हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन आम सर्वसाधारणका लागि मन्दिर खुला गरिने परम्पराअनुसार सोही अवसरमा मन्दिर खुला गरिएको हो । वर्षको एक पटक मात्र दर्शनका लागि खुल्ने तलेजु भवानी मन्दिरमा उपत्यकासँगै देशैभरका सर्वसाधारण पूजा आराधना एवं दर्शन गर्नका लागि तलेजु भवानीको शरणमा पुगेका थिए । ३६४ दिन दैनिक रुपमा नित्य पूजा हुने भए पनि सर्वसाधारणको पूजाका लागि एक दिनमात्र खुल्ने व्यवस्था हुँदा तलेजु मन्दिर परिसरको भीड थामिनसक्नु बनेको थियो ।

किराँत, लिच्छवी, मल्ल र शाह वंशदेखि अहिलेको तलेजु भवानीको विभिन्न स्वरुपमा पूजा हुँदै आएको छ । प्रकृति, मनमानेश्वरी र तलेजु भवानीको नामले पूजा हुँदै आएको उक्त मन्दिरमा अहिले पनि चारवटै वंशजले चलाएको विधि अनुसार पुजा हुने गर्छ । किराँत काल देखि नै संग्रहित भवानीको मन्दिर मल्ल राजाहरुको इष्ट देवता समेत हुन् । तान्त्रिक देश नेपालमा भवानीसँग मल्ल राजाहरूले पासा खेल्ने र अलौकिक शक्ति प्रदर्शन गर्ने जस्ता तथ्य पनि अझै सुन्न र पढ्न पाइन्छ ।

दशै विशेषत हिन्दुधर्मको शक्तिस्वरुपा नवदुर्गा भवानीको विशेष पुजा आराधना गर्ने महत्वपूर्ण उत्सव हो । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म प्रत्येक दिन शैलपुत्री, ब्रम्हचारिनी,चन्द्रघण्ट,कुष्माण्डा,स्कण्दमाता,कात्यायनी,कालरात्री, महागौरी,सिद्धिदात्री गरिफरक–फरक देवी–देवताको पूजा गर्ने प्रचलन रहिआएको छ । महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्ववका साथ लिइन्छ ।

त्यसै अनुसार आश्विन शुक्ल नवमीको दिनमात्रै खुल्ने तलेजु भवानीको दर्शन गर्नका लागि स–परिवार मन्दिर पुग्ने गर्छन् । चर्काे घामको पनि परवाह नगरि घण्टौसम्म लाईनमा नै उभिएर भवानीको दर्शनका लागि भक्तहरू लालायित हुने गर्छन् । फूलपातीको दिन हनुमानढोका दरबारको मुल चोकमा ल्याइने तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मुल मन्दिरमा फर्काइने प्रचलन छ । विजयादशमीसम्म यहीँ राखेर पूजा आराधना गरिने तलेजु भवानीलाई दशमीको दिन समितिले साईत अनुसार यात्रा गराइन्छ ।

महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगा गरि १०८ बलिसमेत दिएको छ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत विधिवत् कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइने परम्परा छ । दानवी प्रवृत्तिबाट मानिसलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गा देवीको पूजा आराधना गर्ने शास्त्रोक्त कथन छ ।