Breaking

दशैंमै ४ परिवारले बुझे छोराको शव, परराष्ट्रमन्त्री भावुक, विपिन अझै बेपत्ता, ६ जनाको शव कहिले आउँछ ?


काठमाडौँ — इजरायलमाथी गाजापट्टीबाट भएको आक्रमणमा परी मृत्यु भएका १० जनामध्ये चार जना नेपालीको शव काठमाडौं ल्याईएको छ । अक्टोबर ७ मा इस्लामिक समूह हमासको आक्रमणमा ज्यान गुमाएका उनीहरुको शव आइतवार नेपाल आईपुगेको हो । नेपाल आइपुगेको शवहरु महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाईनेछ । विदेशमा सीप सिकेर स्वदेशमा केहि गर्ने सपना सहित इजरायल पुगेका नेपाली विद्यार्थी बाकसमा फर्किएका छन ।

पढ्दै कमाउँदै परियोजना अन्तर्गत इजरायल पुगेका विद्यार्थीहरु अक्टोबर सातमा इजरायलको मध्य र दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहले गरेको आतंककारी हमलामा परी अकालमा मृत्युवरण गरे । इस्लामिक समुह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । जसमध्ये चार जनाको शव आइतवार नेपाल आइपुगेको हो । नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दीपेशराज बिष्ट र आशिष चौधरीको शव आइतवार काठमाडौँ ल्याइएको हो ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, नेपालका लागि इजरायली राजदुत हनान गोडरलगायत अधिकारीहरू त्रि–भुवन अन्तराष्ट्रिय विमानस्थलमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन । नेपाल आइपुगेका चारवटै शवलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पोष्टमार्टम गर्ने र नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी लगिने छ । इजरायल सरकारले पहिचान खुलेका ४ जनाको शव कानूनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासमा बुझाएपछि दुतावास मार्फत शव आईतवार काठमाडौं आइपुगेको हो ।

घटनामा परी मृत्यु भएको १५ दिनपछि चार जनाको शव नेपाल आइपुगेको छ । अर्को एक जनाको शव केहि दिनमा नै नेपाल ल्याउने नेपालका लागि इजरायली राजदुतावासले जनाएको छ । अन्य पाँच जनाको भने अझै पहिचान हुनै बाँकी छ । इजरायल सरकार शवहरुको पहिचान गर्ने प्रक्रियामै रहेको र बाँकी पाँच जनाको पनि शव पहिचान हुने बताएका छन । वेपत्ता रहेका विपिन जोशीको खोजीकार्य जारी रहेको जनाएको छ ।

युद्धभूमि बनेको इजरायलबाट सरकारले नेपाल फर्किन चाहाने नागरिकहरुको उद्धार गरिसकेका छ भने कुटनीतिक प्रक्रिया पुरा गरी मृत्यु भएकाहरुको शव ल्याउने क्रम समेत सुरु गरेको छ । आतंककारी हमलामा इजरायल–प्यालेस्टाइन युद्ध झन झन चर्कि रहेका बेला दुवै पक्षले आक्रमणलाई तिव्रता दिई रहेका बेला त्यहा रहेका अन्य नेपालीहरुको सुरक्षा र वेपत्ताको खोजीका लागि समेत कुटनीतिक पहलमा निरन्तरता दिईरहेका दावी गरेका छन ।

हालसम्म युद्धमा ४ हजार ३ सय ८५ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । इजरायलतर्फ १४ सय बढीको मृत्यु भईसकेको छ । युद्धमा सर्वसाधरण निशानामा परिरहेका छन । इजरायल हमास युद्धविराम गर्न अन्तराष्ट्रिय रुपम पहल सुरु भए पनि युद्ध झन क्रूर बन्दै गएको छ । अहिले द्वन्दको मध्यस्थता गर्दै आएको इजिप्टले मानवीय सहायता सामाग्रीहरु उपलब्ध गराउने साथै विश्वका शीर्ष नेताहरुसँग छलफल थालेको छ ।