काठमाडौँ — चाडपर्व भन्नेबित्तिकै खानपानको कुरा आउँछ । मिठो–मसिनो खानपान गरेर चाडपर्वको उमंगमा रमाउनु नेपालीको विशेषता नै हो । तर, स्वास्थ्यलाई मध्यनजर गरेर खानपान नगर्दा जटिल समस्यासमेत निम्तिन सक्छ दशैँको समयमा भेटघाट र रमाइलोसँगै खानपान पनि अत्यधिक हुन्छ । जसले गर्दा स्वास्थ्यमा असर पर्छ । त्यसैले दशैँमा रमाइलो सँगै स्वास्थ्यको पनि ख्याल गर्न जरुरी हुन्छ । दशैँको खास विशेषता भनेकै धार्मिक र संस्कृति महत्वसँगै मिठोमसिनो खानु हो । हुन त अहिले मिठो मसिनो खान दशैँ पर्खनुपर्ने वाध्यता छैन ।
यद्यपी दशैंसँग जोडिएर आउने स्वादिलो खानपानको कारण यो पर्व विशेष मानिन्छ । दशैं र खसीको पक्कुलाई परिपुरक ठान्नुहरु पनि छन् । दशैँका लागि घरमा खसी पाल्नेदेखि घरमा खसी नहुनेले किनेर ल्याउने गर्छन । खसीका साथै इच्छा र परम्पराअनुसार रागा, भैसी, कुखुरा, हाँसका मासुका परिकार पनि पाक्छन । खानपानकै कारण अहिले धेरैको शरीर रोगी बनेको छ । शरीरले थेग्नेभन्दा बढी र अस्वस्थ्यकर खानपानले रोग निम्त्याउँदै छ ।
दशैँमा अत्याधिक मात्रामा माछा मासु खपत हुन्छ । खान नपाएर भन्दा खान नजानेर धेरै मानिसको मृत्यु हुन्छ भन्ने वाक्यांश त्यसै चर्चित भएको होइन । पाएपछि अलकत्रै निल्ने भन्ने उखान जस्तै दशैँमा ज्यादा मासु खाँदा विभिन्न समस्या निम्तिन सक्छ । आफ्नो शरीरले धान्ने जति मात्रै खानुपर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । दशैंमा विशेषतः मासुका परिकार खाँदा विशेष सावधानी अपनाउनुपर्छ । शरीरको तौल, उमेर र अन्य स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सन्तुलित खानपान नगर्ने हो भने त्यसको असर ठूलो पर्न सक्छ ।
चाडपर्वमा मांसाहारका साथै गुलियो, चिल्लो, नुनिलो, तारेका, जंकफुड तथा मदिरा सेवनले अल्पकालीन र दीर्घकालीन समस्या निम्त्याउँछ । दशैँमा हुने खानेको घरको चुल्होमा मात्र नभएर हुँदा खानेहरूले पनि ऋण नै काढेर भए पनि धेरै परिकार बनाउँछन । खानपिनमा ध्यान नदिँदा पेट तथा पाचन प्रणालीमा समस्या, अल्सर, मोटोपन, कोलेस्ट्रोल, कलेजो र मधुमेहका रोगहरूले सताउन सक्छ । चाडपर्वमा खानपिन तथा जीवनशैलीमा विशेष ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया