Breaking

Russ-Ukrain War : रुस–युक्रेन युद्ध लड्दै नेपाली, केहीको मृत्यू, केही बन्धक, सरकार बेखबर


काठमाडौँ — विदेशिनु आम नेपालीको बाध्यता हो । वैदेशिक रोजगारी निर्विकल्प विकल्पको रुपमा विकास भईरहेको छ । अध्ययन रोजगारी मात्र नभई दुई÷चार पैसा कमाउने लोभमा नेपाली युवाहरु युद्धको आगोमा झोसिन बाध्य भईरहेका छन् । रुसी सेनामा भर्ती भएका बर्दियाका विवेक खत्री अहिले युक्रेनी सेनाको नियन्त्रणमा छन् ।

यो घटना सामाजिक सञ्जाल र सञ्चार माध्यममा सार्वजनिक भएसँगै धेरैलाई झस्काएको छ । युक्रेनको अभ्दिभ्का सहरबाट युक्रेनी सेनाको कब्जामा पुगेका विवेकले दिएको अभिव्यक्तिले धेरैको ध्यानकर्षण गराएको छ । उनी नियन्त्रणमा परेको विषय युक्रेनका पूर्वआन्तरिक मामिला उपमन्त्री एन्टोन हेरासचेन्कोले सामाजिक सञ्जाल एक्समा भिडिओसहित सार्वजनिक गरेका छन । पैसाका लागि मात्र युक्रेनीहरूलाई मार्न युद्धमा होमिएको खत्रीले स्वीकार गरेका छन् ।

खत्री सतहमा आएको एउटा पात्र मात्र हुन् । २०२२ फेब्रुअरीदेखि जारी रुस युक्रेन युद्धमा दुवै देशले विदेशी मूलका मानिसलाई सेनामा भर्ती गरिरहेका छन । सरकारको निर्णय विपरित नेपाली युवाहरु केहि रुपैयाँ कमाउने लोभमा रुसी फौजीमा छिरेका छन । शुक्रवार रुसी सेनामा भर्ती भएका सन्दीप थपलियाको युक्रेनी सेनाको कारबाहीमा परेर मृत्यु भएको खबर यत्रतत्र छ ।

युक्रेनको बाख्मुत शहरमा युक्रेनी सेनाको कारबाहीमा परी सन्दिपको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन । आफ्नो आर्थिक अवस्था सुदृढ गर्नकै लागि युद्ध मोर्चामा लडाकुकै रुपमा नेपालीहरु होमिईरहेका छन् । तर आफ्ना नागरिक कुन देशमा पुगेर युद्ध लडिरहेका छन्, सरकार बेखबर छ ।

रुसी सेनामा भर्ती भएकाहरुको परिवार र आफन्तहरुले उनीहरुको अवस्थावारे बुझ्न सरकारसँग हारगुहार गरेको महिनौ वित्यो । तर सरकारले न त कुनै कदम नै अघि बढायो, न त अरु नेपालीहरुलाई युद्ध मैदानमा होमिनबाट नै रोक्न सकिरहेको छ । अक्टोबर ७ देखि इजरायल र हमासबीच जारी लडाइँमा १० जना नेपाली युवाले ज्यान गुमाएका छन् ।

सीप सिकेर देशमै केहि गर्ने लक्ष्य सहित लर्न एण्ड अर्न कार्यक्रममा इजरायल पुगेका युवाहरु बाकसमा फर्कंदै छन् । ज्यान गुमाएका १० मध्ये ४ जनाको मृत शरिर आईतबार नेपाल आईपुग्दै छ । एक जना विद्यार्थी अझै वेपत्ता छन् । विभिन्न देशमा भईरहेका युद्धमा नेपाली युवा प्रयोग भईरहँदा सरकार रमिते मात्रै बनेर बस्न पटक्कै मिल्दैन । उचित तारतम्य मिलाएरै उनीहरुलाई युद्धभुमीसम्म पुग्नबाट रोक्नुपर्छ ।