Breaking

संस्कृतिको जगेर्ना गर्न जुटे हुम्लाबासी, यसरी गाए देउडा, प्रतियोगीतामा जुट्दै युवा, केन्द्रलाई छैन वास्ता


काठमाडौँ — सुदूरपश्चिमको सांस्कृतिक पहिचान बोकेको देउडा पातलिँदै जाँदा हुम्लामा भने संरक्षणको प्रयास भएको छ । दशैंको रमझमसँगै हुम्लाको सिमकोट गाउँपालिकामा देउवा प्रतियोगीता आयोजना गरिएको छ । देउडा संस्कृतिमा नयाँ पुस्ताको रुची नदेखिएपछि गाउँका स्थानीयहरुले देउडा संस्कृति मञ्च नै गठन गरी प्रतियोगिताको आयोजना गरेका हुन् । बडादशैंको रमझमसँगै हुम्लाबासीहरु सुदूरपश्चिमको सांस्कृतिक पहिचान जोगाउन भन्दै देउडातिर झुम्मिएका छन् ।

विभिन्न चाडपर्वमा महिला र पुरुषको देउडा खेल आकर्षक मनिने भएपनि लोप हुँदै गएपछि यसको संरक्षणमा युवाहरु जुटेका हुन् । देउडा संस्कृतिको संरक्षणका लागि भन्दै हुम्लाको सिमकोट गाउँपालिकामा देउडा प्रतियोगिता आयोजना गरिएको छ । गत वैशाख १ गतेदेखि देउडा, ढाल, दमाया लगायतका संस्कृति संरक्षणका लागि देउडा प्रतियोगिता शुरु गरिएको हो ।

देउडा संस्कृतिमा नयाँ पुस्ताको रुची नदेखिएपछि गाउँका स्थानीयहरुले देउडा संस्कृति मञ्च नै गठन गरी प्रतियोगिताको प्रारम्भ गरेका हुन् । यही वैशाखदेखि हुम्लाको सिमकोटमा महिनाको दुई दिन १ र १५ गते देउडा प्रतियोगिता हुने गरेको छ । प्रतियोगिता हेर्न टाढा टाढादेखि सबै वर्ग र तहका स्थानीहरु भेला हुने गर्दछन् ।

पश्चिमेली संस्कृतिको दबाबमा नेपाली संस्कृति लोप हुँदै गएपछि आफ्नो संस्कृति जगेर्नाका लागि स्थानीय बुढापाकाहरु एकजुट भएका हुन् । देउडा गीतमा पहिला पहिला रामायणका रामसीताको चरित्र, महाभारतको गाथा, प्रकृतिको बयानगाथा, मायापिरती, दुःख वेदनाका गीतहरु गाइने गरिन्छ ।

सुदूरपश्चिमका युवा जनशक्ति आफ्नो संस्कृति छोडेर वाह्य संस्कृतिसँग आकर्षित हुँदा देउडा पनि लोप हुँदै गएकाले आफुहरुले युवाहरुको आकर्षण बढाउन प्रतियोगिता नै गर्ने निर्णय गरेको देउडा संस्कृति संरक्षण मञ्चका अध्यक्ष तीर्थराज रोकाय बताउँछन् । अहिलेसम्म संस्कृति संरक्षण अभियानमा ९४ जना सदस्य जोडिसकेको उनले बताए ।

संस्कृतिको संरक्षका लागि कर्णाली प्रदेशमा देउडा प्रतिष्ठान नै गठन भएको छ । देउडा नृत्य, गीत र कलाको समिश्रणबाट जन्मेको संस्कृति हो । देउडालाई कर्णाली प्रदेशको मुल संस्कृतिको रुपमा हेरिन्छ । देउडा खेललाई महिला र पुरुषको माया प्रितीको भारी बिसौनीको रुपमा पनि खेलिने गरिन्छ ।

एका पट्टी महिला र अर्को पट्टी पुरुष बिस्तारै वाङ्गो तरिकाले लाम बसेर खेलिने भएकोले पनि यसलाई देउडा भनिएको यसका जानकारहरु बताउँछन् । पहिले पहिले कर्णाली र आसपासका क्षेत्रमा मात्र लोकप्रिय बनेको देउडा अचेल भने राजधानी काठमाडौंसिहित अरु ठाउँमा पनि लोकप्रिय बन्दै गएको छ ।