Breaking

प्रचण्ड फेरि गठबन्धन फेर्दै, देउवा फकाउँदै ओली, माओवादीले चाहेको राष्ट्रिय सरकार कस्तो ?


काठमाडौँ — माओवादी अध्यक्ष पुष्कममल दाहाल प्रचण्ड नेतृत्वको सरकारको भविश्यमाथि प्रश्न उठ्न थालेको छ । कोशी प्रदेशमा कांग्रेस र एमालेले सत्ता सहकार्य गरेसँगै प्रधानमन्त्री प्रचण्ड संकटमा परेका छन् । गत पुस १० गते नेकपा एमालेको समर्थनमा तेस्रो कार्यकालको लागि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड कोशीमा एमालेकै सहयोगमा कांग्रेस नेता शेखर कोइराला समूहको विद्रोहले झस्किका छन् ।

अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भएजस्तै भएको छ सत्तारुढ गठबन्धनका नेताहरुलाई । अघिल्लो सत्ता समिकरण फेरबदलको अभ्यास सुदुरपश्चिमबाट भएको थियो । अहिले कोशीबाट फेरि नयाँ अभ्यास भएको छ । कोशीमा मात्रै नभएर अन्य प्रदेश र केन्द्रमा समेत नयाँ समिकरण बन्ने दाबी एमालेले गरेको छ । एमाले र कांग्रेसको शेखर कोइराला पक्षबीचको सहकार्यले सबैभन्दा बढी छटपटी प्रधानमन्त्री प्रचण्डलाई भएको छ ।

सत्तापक्षमै भएर पनि सरकारप्रति प्रतिपक्षको भन्दा फरक व्यवहार कोइराला पक्षको छैन । सरकारका सबैभन्दा बढी मन्त्री कांग्रेसकै छन् । तर, कोइरालाले मन्त्री मात्रै भएर नहुने भन्दै प्रधानमन्त्री नै कांग्रेसले पाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । यद्यपि, हालसम्म कांग्रेस सभापति शेरबहादुर देउवा सत्तारुढ गठबन्धनमा भएको सहमतिकै पक्षमा देखिन्छन । फेरि एमाले र माओवादी मिल्ने हुन् कि भन्ने डर पनि देउवालाई छ । तर, त्यो भन्दा बढी कांग्रेस र एमाले मिल्ने हुन् कि भन्ने डर माओवादीमा देखिन्छ ।

कोशी प्रदेशबाट कांग्रेस र एमालेको सत्तासहकार्य सुरु भएको छ । यसअघि संविधान निर्माणअघि पनि कांग्रेस र एमालेले सत्ता सहकार्य गरेका थिए । प्रदेश र संघ सबैतिर दुई वा दुईभन्दा बढी दल नमिली सरकार बन्ने स्थिति छैन । कांग्रेस, एमाले र समाजवादी मोर्चामध्ये दुई शक्ति एकातिर उभिएपछि अर्को शक्ति प्रतिपक्षको कित्तामा पुग्ने संसदीय अंक गणित छ । कोशी प्रदेशमा त झन् जटिल समिकरण छ ।

विश्लेषकहरू कोशी विद्रोहको बाछिटा केन्द्रसम्म आइपुग्ने दाबी गर्छन । कोशीबाट गठबन्धनभित्र देखिएको खतरालाई टार्न कांग्रेस सभापति देउवा र माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले गठबन्धन नभत्काउन शेखर कोइरालासँग लिखित सहमति नै गराउने अवस्था बन्यो । तर, देउवा, प्रचण्ड र शेखरबीचको लिखित सहमति कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रद्धीको टोकरीमा फालिदिएपछि कांग्रेस र माओवादीबीच दूरी बढेको छ ।