Breaking

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा आराधना


काठमाडौँ – शारदीयनवरात्र अर्थात् बडादशैँको पाँचौँ दिन बिहीबार स्कन्दमाताको पूजा आराधना गरिँदैछ ।

स्कन्दमाता भगवती पार्वतीकै रूप हो । स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ ।

गोरो वर्ण, चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन् । यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ । कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ ।

नवरात्रमा प्रत्येक दिन एक– एक देवीको आराधना गर्ने परम्परा छ । घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालु शक्तिस्वरूपा भगवतीको आराधना गर्छन् ।

पुराणअनुसार विभिन्न समयमा माता पार्वतीले लिएको रूपलाई नै नवदुर्गा भनेर पूजा आराधना गर्ने परम्परा चलेको हो। मार्कण्डेय पुराणअन्तर्गत देवीमाहात्म्य अनुसार नवदुर्गा भन्नाले शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन् ।

आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिन ‘दुर्गाघट’ स्थापना गरिएको दशैंघरमा नवमीसम्म प्रत्येक दिन क्रमैसँग एक–एक देवीको उपासना गर्ने परम्परा छ । नवरात्रभरि महाकाली-महालक्ष्मी-महासरस्वतीरूपिणी शक्तिस्वरूपा भगवतीको आराधना गर्ने परम्परा छ ।