विदेश

झनझन् चर्कंदै, युद्धभूमीमा बाईडेन, हमास सक्दै गाजा कब्जा गर्ने दाउमा न्याहू


काठमाडौँ — अक्टोबर ७ (शनिबार) मा इजरायलमा हमासले गरेको अकस्मात र भयानक हमलापछि मध्यपूर्वको अवस्था तीव्र गतिमा परिवर्तन हुँदैछ । पछिल्लो पटक गाजाको एक अस्पतालमा इजरायलले गरेको रकेट आक्रमणमा ५ सयको मृत्यु भएको छ । तनावका बीच अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेका छन् । उनले त्यहाँका राष्ट्रपति बेन्जामिन नेतान्याहुसंग भेटवार्ता गरेका छन् । इजरायल र हमासबीचको युद्ध १२ औं दिन पनि जारी छ ।

युद्धले गाजामा समस्या गहिरिँदै जाँदा अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेका छन् । ११ दिनदेखि हमासविरूद्ध युद्ध लडिरहेको इजरायललाई हौसला दिन र इजरायल–हमास द्वन्द्वमा अरू मुलुक संलग्न हुने अवस्था आउन नदिन बाइडेन बुधबार तेल अभिभ पुगेका हुन् । विमानस्थलमा बाइडेनलाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले स्वागत गरेका छन् ।

उनको भ्रमणको उद्देश्य हमाससँगको लडाइँमा रहेको इजरायललाई समर्थन दर्शाउनु हो । यहीबीच अमेरिका खाडीका देशहरूसँग पनि निरन्तर छलफलमा छ । कतै इजरायल–हमास लडाइँ क्षेत्रीय युद्धमा रूपान्तरण हुने हो कि ? भन्ने अमेरिकालाई डर छ । यो डर किन पनि पैदा भएको हो भने इरानले सार्वजनिक रूपमै इजरायलविरुद्ध कदम चाल्ने चेतावनी दिएको छ । हेजबुल्लालगायत शक्तिसँग मिलेर इजरायलमाथि प्रतिक्रियात्मक कदम चालिने धम्की इरानले दिदै आएको छ । क्षेत्रीय युद्धको खतरा टार्न सक्रिय रहेका अमेरिकी राष्ट्रपति बाइडेन इजरायलको भ्रमण सकेर जोर्डन जानेछन् ।

जहाँ उनको भेट त्यहाँका राजा अब्दुल्लाहसँग हुनेछ । त्यसपछि इजिप्टका राष्ट्रपति अब्देल फातेह अल सिसी र प्यालेस्टाइनकै अर्को हिस्सा वेस्ट ब्यांकमा सरकार चलाउने मोहम्मद अब्बाससँग पनि बाइडेनले छलफल गर्नेछन् । वेस्ट ब्यांक इजरायलकै नियन्त्रणमा छ तर त्यहाँ प्यालेस्टिनी एथोरिटी नामक निकाय छ । जो त्यहाँको सरकारसरह हो । यसको नेतृत्व अब्बासको दल प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनले गरिरहेको छ । बाइडन र उनको देश सम्भावित क्षेत्रीय युद्धको चिन्तामा रहिरहँदा गाजा भने ध्वस्त भइरहेको छ ।

पछिल्लो पटक गाजाको अस्पतालमा भएको रकेट आक्रमणमा ५ सय जनाको मृत्यु भएको छ । हालसम्म गाजा पट्टीमा ३ हजार ५ सयभदा बढिको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन् । मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन् । पछिल्लो जानकारी अनुसार युद्धमा हालसम्म १ हजार ४ सय इजरायलीको मृत्यु भएको छ भने ४ हजार ३९९ घाइते छन् । पछिल्लो पटकको अस्पतालमा भएको बम विष्फोटको पछाडि इस्लामिक जिहादको हात रहेको प्रमाणित गर्न भिडियो फुटेज जारी गर्ने दाबी गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाको अस्पतालमा भएको हमला आइडीएफले नभई आतंकवादीहरूले गरेको हो भन्ने कुरा सारा विश्वले जान्नुपर्दछ भन्ने प्रतिक्रिया दिएका छन् ।

इजरायलले यति बेला हमासलाई नष्ट गर्ने भन्दै गाजामाथि हमला गरिरहेको छ । गत अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलका विभिन्न बस्तीमा आक्रमण गरेको थियो । यो आक्रमणलाई इजरायलको ७५ बर्से इतिहासकै सर्वाधिक घातक भनिँदैछ । हमास आक्रमणको जवाफ दिन इजरायलले गाजामाथि बमबारी गरिरहेको छ । जस्मा २३ लाख जनसंख्या रहेको गाजामा आधाभन्दा धेरै प्यालेस्टिनीले घर छाडेका छन् ।

इजरायलले गाजामा कडा नाकाबन्दी पनि लगाएको छ । नाकाबन्दीका कारण खाद्यान्न, तेल र स्वास्थ्य सामग्री अभाव सुरु भएको छ । बाइडेनको इजरायल यात्रालाई महत्वकासाथ हेरिएको छ । एकातर्फ चुनौतिकाबीच पनि बाईडेन र नेतान्याहु भेटवार्ता भएको छ भने हमासलाई सहयोग गर्ने अर्को धु्रर्वको शत्तिहरु चीनमा छलफलमा छन् । जस्को कारणले गर्दा आगामी दिनमा यसरी आक्रमक बनिरहेको युद्ध कुन अबस्थमा जान्छ भन्ने अझै अनिस्चित छ ।