विदेश

बंगलादेशले भारतलाई हराए खेलाडीसँग माछाको परिकारसहितको डिनर गर्ने पाकिस्तानी नायिकाको प्रस्ताव


काठमाडौँ — आईसीसी एकदिवसीय विश्वकपमा बिहीबार भारतले बंगलादेशको सामना गर्दैछ । जारी विश्वकपमा हालसम्म आयोजक राष्ट्र भारत र साविक उपविजेता न्युजिल्यान्डले मात्र आफूले खेलेका तीनवटै खेल जितेका छन् । दुई बलिया टोली इङ्ल्यान्ड र दक्षिण अफ्रिकाले भने एक—एक खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वीसँग अप्रत्यासित हार भोगेका छन् । साविक विजेता इङ्ल्यान्डलाई अफगानिस्तानले ६९ रनले हराएको थियो ।

दक्षिण अफ्रिकी टोली भने नेदरल्यान्ड्ससँग ३८ रनले पराजित भएको थियो । यी दुई अप्रत्यासित नतिजापछि एक पाकिस्तानी नायिकाले बिहीबार हुने खेलमा बंगलादेशले भारतलाई हराउन सफल भएमा आफू बंगलादेशी खेलाडीहरुसँग खाना खान ढाका जाने प्रस्ताव राखेकी छन् ।

सेहर सिनवारी नामकी पाकिस्तानी नायिकाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत बंगलादेशी खेलाडीलाई यस्तो प्रस्ताव राखेकी हुन् । ‘मेरा बंगली बन्धुहरुले बिहीबार हुने खेलमा भारतलाई हराउन सफल भए भने म उनीहरुसँग माछाको परिकारसहितको भोजन गर्न ढाका आउने छु,’ उनले भनेकी छन् । जारी विश्वकपमा भारत र पाकिस्तानबिचको वहुचर्चित खेल यसअघि नै भइसकेको छ । उक्त खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो । भारत र बंगलादेशबिचको खेल भने बिहीबार पुणेमा खेलिने छ ।