Breaking

कोशीमा शेखरको जीत, ४ वर्षलाई मुख्यमनत्री ढुक्क, एमालेलाई सरकार छाड्न माओवादीको दबाब


काठमाडौँ — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई केन्द्रको सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जसपालेसमेत विश्वासको मत दिए भने उनले दुई तिहाईभन्दा बढि मत पाउन सफल भए ।तर, दलहरुले आफ्नो राजनीतिक अभिष्ट पुरा गर्नकै लागि अर्थात, फेरि अर्को चलखेलमा खेल्नकै लागि कार्कीलाई विश्वासको मत दिएको विषय भने लुक्न सकेन ।

संविधानको धारा १६८ अनुसार प्रदेश सरकार गठनको अन्तिम विकल्प अर्थात उपधारा ५ को प्रयोग गर्दै कोशीको मुख्यमन्त्री बनेका केदार कार्कीले ६८ सांसदको विश्वास जित्न सफल भए । अर्थात, नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको विद्रोही शेखर कोइराला समूहका ८ सांसदलाई लिएर मुख्यमन्त्री बनेका कार्कीलाई अन्तिम अवस्थामा नेकपा एमालेसँगै केन्द्रको सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले मत दिए । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत खस्यो भने विपक्षमा राप्रपाका ५ जना सांसद मात्रै रहे ।

कोशी प्रदेशलाई मध्यावधिमा लैजानबाट जोगाउन भन्दै कार्कीलाई विश्वासको मत दिएका दलहरुले प्रदेशसभाको रोष्टम प्रयोग गर्दै राजनीतिक तुस पोख्न भने पछि परेनन् । मुख्यमन्त्री बनाउन मुख्य भुमिका खेलेका नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले केन्द्रको सत्ता गठबन्धनको ठाडो हस्तक्षेपविरुद्ध केदार कार्कीलाई एमालेले साथ दिएको हाक्काहाक्की नै भने । संविधान बनाउनेहरूबाटै संविधानमाथि आक्रमण भएकाले संविधानको रक्षाको लागि पनि कार्कीलाई एमालेले साथ दिएको उनको तर्क थियो । कांग्रेसको संस्थापन र माओवादीले एमालेलाई विश्वास नगरेकाले केदार कार्कीलाई साथ दिनुपर्ने परिस्थिति बनेको उनले बताए ।

उसो त कोशीमा एमालेले कांग्रेसको शेखर समूहका कार्कीलाई मुख्यमन्त्रीमा समर्थत गर्दै दाबी पेश गरेपछि केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र असन्तुष्ट कांग्रेस नेता शेखर कोइरालाबीच चिर्कटो सम्झौता नै गर्नुपरेको थियो । जेजस्ता राजनीतिक खेलहरु भएपनि अब कोशी सरकारको मुख्यमन्त्री बनाउने म्युजिकल चेयरको खेल सकिएको कांग्रेसको प्रतिक्रिया छ ।

विश्वासको मत दिने क्रममा एमालेसँगै सत्ता पक्षकै लहरमा बसेका कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कांग्रेसका ८ भाइ सांसदले मुख्यमन्त्री बन्न झगडा गरेको टिप्पणी गरे । दुई पटकसम्म मुख्यमन्त्रीमा नियुक्त हुँदासमेत विश्वासको मत लिन नसकेका उनले बताए । मुख्यमन्त्री बन्न झगडा गरेर कुण्ठा पोखेको र युद्धमा गएको भन्दै अब सबै मिलेर प्रदेशलाई प्रगतिको बाटोमा लैजानुपर्ने बताए ।

कोशीमा कांग्रेसलाई सत्ताको नेतृत्वमा पुर्याउन सबैधन्दा धेरै त्याग कसैले गरेको छ भने, त्यो नेकपा (माओवादी केन्द्र) हो । उसले सत्ता गठबन्धनको तर्फबाट कांग्रेसको नेतृत्वमा सरकार गठनकै लागि सभामुख नै त्याग गर्नुपर्यो । अनेक तिकडम गर्दासमेत गठबन्धनका औपचारिक पात्रले कोशीको नेतृत्व गर्न पाएनन् ।

माओवादीले मात्रै बद्नामीको टीका लगाउनुपर्यो । मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिँदै गर्दा माओवादी केन्द्रले आफ्नो पार्टीले गरेको त्यागलाई नजरअन्दाज नगर्न चेतावनी नै दियो । माओवादीको तर्फबाट बोलेका सांसद दुर्गाप्रसाद चापागाईँले गठबन्धन बचाउनकै लागि र गठबन्धनको भावनाअनुसार अगाडि बढ्नका लागि नै सभामुख त्याग गरेको विषय स्मरण गराए ।

सुरुमा विद्रोह गरेरै नियुक्त हुन पुगेका मुख्यमन्त्री कार्कीले दलहरुको आ–आफ्नै रणनीतिले दुई तिहाई बढि मत प्राप्त गर्न सफल भए । प्रदेशसभा बैठकमा बोल्दै उनले परिवर्तन र संघीयतालाई आत्मसात गर्दै अगाडि बढ्न सबैको एकताबद्ध हुनुपर्ने बताए । कोशी प्रदेशलाई मध्यावधि चुनावबाट जोगाउनकै लागि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएको भनिएपनि यसमा केही राजनीतिक अभिष्ट जोडिएको देखिन्छ ।

केन्द्रमा सत्ता गठबन्धन फुटाउने ढोका खुलाउनकै लागि कोशीमा कांग्रेसको विद्रोही समूहलाई एमालेले साथ दिएको विषय लुकेको छैन भने एमालेको चलखेल रोक्नकै लागि केन्द्रको सत्ता गठबन्धनमा आवद्ध सबै दलहरुले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएको विषय पनि छर्लंग नै छ ।