Breaking

देउवालाई बिस बन्दै शेखर, गगन–विश्वको अर्कै गुट, कांग्रेसको फुटले प्रचण्डलाई धक्का, ओलीलाई राहत


काठमाडौँ — संसदको सबैभन्दा ठूलो र पुरानो दल नेपाली कांग्रेस गुटगत गतिविधिले खस्कदो अवस्थामा छ । कांग्रेसमा अनुभवी र खरिएका नेताको सुर र ताल आ–आफ्नै छ । कांग्रेसको विषयमा पार्टीभित्र र बाहिर पनि प्रश्न उठ्न थालेको छ । देशमा नेपाली कांग्रेसले नेतृत्व गरेको गठबन्धनको सत्ता छ । सत्तारुढ दल, अनुभवी, खारिएका नेता तथा कार्यकर्ताको शक्तिले कांग्रेस थप शसक्त हुँदै जानुपर्ने हो । तर, गुटगत राजनीतिमा नेता तथा कार्यकर्ता लाग्दा कांग्रेसको अवस्था खस्कदो छ । नेतै पिच्छेका गुट र उपगुट कांग्रेसको संस्कार नै बन्न पुगेको छ ।

कांग्रेसभित्र माओवादीको पछि लाग्ने कि एमालेको भन्ने विवाद चुलिदो छ । सभापति शेरबहादुर देउवा माओवादीको पछि लागेको एकाथरी नेताको आरोप छ भने अर्काथरी नेता शेखर कोइराला एमालेको शरणमा पुगेको दाबी गर्छन । त्यसो भए, कांग्रेसको आफ्नो लाइन चाहिँ के त ? कांग्रेसका युवा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा भने कांग्रेसलाई कांग्रेसीकरण गर्ने अभियानमा छन् ।

सभापति शेरबहादुर देउवा गठबन्धनको साथमा छैटौ पटक प्रधानमन्त्री बन्ने तयारीमा छन् । त्यसैले उनी भन्दै छन्, अहिले सत्तारुढ गठबन्धनको विकल्प छैन । सरकारको विषयमा पार्टीभित्रैबाट अनेक प्रश्न उठ्दा पनि देउवा मौन छन् । नेता शेखर कोइरालालाई पनि एमालेको बैशाखी टेकेर प्रधानमन्त्री भइन्छ कि भन्ने लागेको छ । कोइरालाले त्यसको अभ्यास कोशी प्रदेशबाट गरिसकेका छन् । आन्तरिक विवादको भूमरीमा फसेको कांग्रेसले देशको नेतृत्व गर्न नसक्ने टिप्पणी हुन थालेको छ ।

बहुदलीय संसदीय व्यवस्था भएको मुलुकमा लोकतान्त्रिक पार्टीभित्र छलफल र बहस हुन्छ नै । बहुमतको निर्णय अल्पमतले मानेर अगाडि बढ्नु पर्ने हुन्छ । तर, कांग्रेसभित्र न संस्थागत निर्णय हुन्छ, न त सभापतिले गरेको सहमति नै कार्यान्वयन । सत्ताका लागि नेपाली राजनीति दलहरु विभाजित भएको इतिहास छ । गुट उपगुट पनि सत्ता र शक्तिकै लागि बन्ने गरेका छन् ।

अहिलेको अवस्थामा लाभको पद बाँड्ने डाडुपुन्यू सभापति देउवाको हातमा छ भने छुट्याइदिएको भाग थाप्ने पहिलो लाइनमा शेखर कोइराला छन् । लाभको पद बाँडेकै कारण देउवा पार्टीभित्र शक्तिशाली बनेको आरोप पनि लाग्दै आएको छ । तर, जनतामा भने कांग्रेसप्रति अतिरिक्त उत्साह छैन । सिंगो कांग्रेस होइन, कुन गुट भन्ने अवस्था तल्लो तहसम्मै झांगिदै छ । सत्ताको खेलमा भइरहेका गुटगत संघर्ष र षडयन्त्रले कांग्रेसको अवस्था झन्–झन् खस्कदो छ ।