विदेश

पुटिन पुगे चीन, १३० देशको नेतृत्व गर्दै सी जिनपिङ, रुसले किन खोज्यो चीनको साथ ?


काठमाडौँ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनको बेइजिङ पुगेका छन् । बेल्ट एण्ड रोड फोरममा सहभागी हुन उनी चीन पुगेका हुन् । अफ्रिकी र दक्षिणपूर्वी एसियाली १३० देशको सहभागितामा सुरु हुने भेलामा ३० अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि सहभागी हुँदै छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनको बेइजिङ पुगेका छन् । छिमेकी युक्रेनमाथि आक्रमण गरेका पुटिनले त्यसयता बिरलै विदेश भ्रमण गरेका छन् ।

पुटिनविरूद्ध अहिले अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी)ले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पर्ने डरले पुटिन दक्षिण अफ्रिकामा भएको भारत, चीन, दक्षिण अफ्रिका, रूस र ब्राजिल सम्मिलित ब्रिक्सको शिखर सम्मेलन गएका थिएनन् । हालै भारतमा भएको जी २० को शिखर सम्मेलन पनि पुटिन सहभागी भएनन् । रूसले युक्रेनमाथि आक्रमण गरेपछि चिनियाँ राष्ट्रपति सीले गत जेठमा पहिलो पटक रूसको भ्रमण गरेका थिए ।

बिरलै विदेश भ्रमण गर्दै आएका पुटिन पछिल्लो समय इजराइल–हमास युद्धले ओझेलमा परेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) शिखर सम्मलेनमा आपसी सम्बन्धलाई बलियो बनाउन तथा आफ्ना प्रिय मित्र चिनियाँ राष्ट्रपति सी जिङपिङलाई भेट्न मङ्गलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका हुन् । चीनले यसै साता राष्ट्रपति सि को व्यापार तथा पूर्वाधार बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को शिखर सम्मेलनमा भाग लिन पुग्ने एक सय ३० देशका प्रतिनिधिहरूलाई स्वागत गरेको छ । युक्रेनमाथि रुसको आक्रमणले आफ्नो शासन अन्तर्राष्ट्रिय रूपमा एक्लिएपछि पुटिन चीन पुगेका हुन् ।

बीआरआई फोरमका क्रममा उनले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्नेछन् । वार्ताका क्रममा अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूलाई विशेष ध्यान दिइने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । बेइजिङमा रुसी राष्ट्रपति पुटिन चीनसँग पहिलेदेखि मजबुत भएको सम्बन्धलाई अझ बलियो बनाउने अभियानमा छन् तर विज्ञहरूका अनुसार चीनसँगको सम्बन्धमा मस्को तीव्र रूपमा सानो साझेदार बनिरहेको छ । चीन रुसको सबैभन्दा व्यापारिक साझेदार मुलुक हो । गत वर्ष यी दुई मुलुकबीचको व्यापार एक खर्ब ९० अर्ब डलर पुगेको बेइजिङ भन्सार तथ्याङ्कले देखाएको छ ।

युक्रेन युद्धमा बेइजिङको धारणाप्रति पश्चिमा मुलुकहरूले चीनको आलोचना गर्दै आएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेकामा चीनले मस्कोको आलोचना गर्न अस्वीकार गरेको छ र आफू यस मामिलामा तटस्थ रहेको बताउँदै आएको छ । बीआरआईले पुटिन र सीलाई उनीहरूको गठबन्धनलाई प्रदर्शन गर्ने नयाँ अवसर दिए पनि विज्ञहरूले दुई मुलुकबीच कुनै नयाँ ठूलो सम्झौताको घोषणा नहुने अपेक्षा गरेका छन् ।

मस्कोका अनुसार पुटिनलाई शिखर सम्मेलनको प्रमुख अतिथिका रूपमा आमन्त्रित गरेकामा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले चीनलाई धन्यवाद दिएका थिए । लाभरोभले चीनपछि उत्तर कोरियाको भ्रमण गर्ने जनाइएको छ । आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको भेटमा रुसी विदेशमन्त्री लाभरोभले पुटिन र सिले यसै हप्ता भेट हुँदा दुई मुलुकबीच सम्पूर्ण रूपमा छलफल गर्ने बताए । लामो समयको अन्तरालपछिको दुई धु्रव शत्ति राष्ट्रको भेटलाई महत्वकासाथ हेरिएको छ ।