Breaking

दशैको मुखमा रुँदै विदेशिए युवा, परिवारको खुशी खोसियो, रेमिट्यान्समा रमाउँदै सरकार


काठमाडौँ — हिन्दु धर्मवलम्बिको मुख्य चाड दशैं सुरु भईसकेको छ । दशै मनाउनकै लागि सर्वसाधरण जन्मथले फर्किरहेका छन् । बर्षौदेखि परिवारसँग छुट्टिएर वैदेशिक रोजगारीमा पुगेकाहरु समेत दशैं मनाउन घर फर्किरहेका बेला दशैको मुखैमा विदेशिनुपर्ने बाध्यताले भने यो वर्ष पनि छोडेन । के दशै के तिहार चाडवाडको मुखैमा परिवारको खुशीको लागि विदेशीनु पर्ने नेपालीको नियती नै बनेको छ । हिन्दु धर्मवलम्बिको मुख्य चाड दशै सुरु भई सकेको छ ।

अध्ययन, रोजगारी, विभिन्न पेसा व्यवसायले परिवारसँग टाढा रहेका आम सर्वसाधरण दशै सुरु भएसँगै दशै मनाउन जन्मथलो फर्किरहेका छन । परदेशीहरुको आगमनले गाउँघरमा दशैको रौनकता बढाएको छ । परिवारका सबै सदस्य सँगै बसेर चाडपर्व मनाउने हाम्रो पुरानो प्रचलन हो जनु आज पनि उस्तै छ । तर बाध्यता, सबैभन्दा ठूलो चाड दशैं दैलोमै आईपुगेका बेला कतिपय भने चाडपर्वलाई लत्याएर रोजगारीका लागि विदेशीन बाध्य छन ।

यी नै भीडमा मंगलवार दिउँसो त्रि–भुवन अन्तराष्ट्रिय विमानस्थलमा हाम्रो जम्काभेट कैलाली लम्किचुवाका २८ वर्षिय भानुभक्त प्याकुरेल र उनका परिवारसँग भयो । वैदेशिक रोजगारीका लागि माल्टा जान लागेका उनको विदाईमा सिंगो परिवार विमानस्थल पुगेका थिए । चाडपर्वको मुखैमा परिवारसँग टाढिनुको पीडा प्याकुरेलको आँखामा छर्लङ छचल्किएको देखिन्थ्यो भने उनको विदाई कति कठिन छ उनको परिवारको रसाएको आँखा नियाले पुग्छ ।

प्याकुरेल परिवार एक उदाहरण मात्र हुन् । त्रि–भुवन अन्तराष्ट्रिय विमानस्थलमा दैनिक सयौं परिवारको पीडाको प्रतिनिधित्व यहि दृश्यले गर्छ । नेपालीहरुको यो नियति चाडपर्वले कहाँ छेक्नु । विदेशको भिषाले हाम्रो चाडपर्व चिन्ने कुरा भएन । फलतः युवाहरु घर–आँगनमै आईपुगेको दशै र पारिवारिक रमझम भुलेर बिदेशिएका छन ।

चाडपर्वले छपक्कै छोपेको बेला दशैको रमझमलाई थाति राख्दै आम सर्वसाधरण दशैको मुखैमा वैदेशिक रोजगारीका लागि विदेशिरहेका छन । दैनिक रोजीरोटीको जोहो गर्नकै लागि युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य छन ।

अध्ययन रोजगारीका लागि दैनिक २५ सयको हाराहारीमा युवाहरु विदेशि रहेका छन । कोरोना महामारीपछि विदेशीनेको संख्यामा ह्वात्तै वृद्धि भएको छ । देशको विकास आर्थिक समृद्धिको नारा लगाउने राजनीति नेतृत्व युवा जनशक्ति निर्यात गर्दै रेमिट्यान्समा रमाईरहेका छन । चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को पहिलो दुई महिनामा झण्डै साढे २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.१ प्रतिशत धेरै हो । यो तथ्यांकले पनि विदेशीनेहरुको संख्या हरेक दिन बढ्दै गएको प्रमाणित गर्छ ।