देश

नयाँ नोटले दशैंको खुशी, घर जाने बढे, बजारमा सामान किन्नेको घुईंचो, टिकट पाउनै मुस्किल


काठमाडौँ — बडादशैं सुरु भएसँगै चहलपहल बाक्लिएको छ । नेपाल राष्ट्र बैंकले सोमबारदेखि दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिन शुरु गरेको छ भने बजारमा किनमेल गर्नेहरुको भीड पनि उत्तिकै देखिन्छ । सहरबाट जन्मथलो फर्कनेहरुको लर्को लागिरहेको छ । दशैं सुरु भएसँगै किनमेल गर्ने, जन्मथलो जाने, नयाँ नोट साट्ने, घर लिपपोत गर्ने, खसिबोका किन्नेहरुको टचारो सुरु भएको छ । आईतबार घटस्थापना गरेसँगै बडादशैं सुरु भएको छ । सोमबार दास्रो दिन घरघरमा नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरेर मनाईएको छ ।

नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना गरिन्छ । यस्तै, नेपाल राष्ट्र बैंकले सोमवारदेखि दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिन शुरु गरेको छ । नयाँ नोट साट्नेहरुको राष्ट्रबैकं लगायत अरु बैंकका शाखा बैकंमा सुरुको दिनमा नै बाक्लो भीड लागेको देखिन्छ । नयाँ नोट सटही गर्न पुगेकाहरुले राष्ट्र बैंकको लाइनमा सहज रुपमा नयाँ नोट सटही गरेको प्रतिक्रिया दिएका छन् । विगतको भन्दा नयाँ नोट सटही ज्येष्ठ नागरिकको लागी छुट्टै रुपमा व्यवस्थित गरेकाले सहज भएको उनीहरुको भनाई छ । नयाँ प्रविधि अनुसार क्युआरमार्फत पनि पैसा साट्न सक्ने व्यवस्थाले अझ सहज भएको छ ।

विगतका वर्षमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकले आगामी शुक्रवारसम्म नयाँ नोट सटहीको सुविधा दिएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेशमान शाक्यका अनुसार नयाँ नोट प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म मात्रै सटही गर्न पाउनेछन् । सटही गर्दा पाँचको एक प्याकेट, १० को, २० को, ५० को र सय रुपैयाँ दरको एक प्याकेट उपलब्ध गराईनेछ ।

दशैं लागेसँगै काठमाडौं उपत्यका लगायत मुख्य बजारमा दशैँको लागि किनमेल गर्नेभीड बाक्लिएको छ । असन, न्युरोड र भोटाहिटीलगायत क्षेत्रका बजारमा सामान किन्ने ग्राहकको भीड बाक्लै देखिन्छ । विगतका वर्षहरुको जस्तो यो वर्ष आर्थिक मन्दीको कारण व्यापारको लागि उत्साह नदेखिएको व्यापारीहरुको भनाई छ । तर बजारमा ग्राहकको भीडभाड बढ्दा व्यापारीलाई केही राहत मिल्ने आशा जगाएको उनीहरु बताउँछन् ।

दशैको माहोल सुरु भएसँगै बसपार्कमा उपत्यका छोड्नेहरुको भीड बाक्लो देखिन्छ । नयाँ बसपार्क, कलङ्की, कोटेश्वर लागायत बसपार्कबाट दैनिक ३५ हजार भन्दा बढी यात्रु बाहिरिन थालेका छन् । यता, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि सोमबार ३ हजार खसी, बोका र च्याङ्ग्राकाठमाडौं भित्र्याएको छ । कम्पनीले पश्चिम नेपाल दाङ, तुल्सीपुर, धादिङ र हेटौँडा लगाएतका स्थानबाट ८ करोड ३६ लाख रुपैयाँ बराबरको खसीबोका, च्याङग्रा काठमाडौं भित्र्याएको हो ।