Breaking

विश्वप्रकाशले ओली थर्काएपछि गोकुलको गर्जन, कांग्रेस–एमालेको सत्ता यात्रा सुरु हुँदा बाझाबाझमा नेतृत्व


काठामडौँ — कांग्रेस नेता डा. शेखर कोइरालाले एमालेसँग घोषित सहकार्य अगाडि बढाएपछि एमालेका नेताहरू हौसिएका छन् । एमालेले प्रयोग गरेर पार्टी फुटाइदिने हो कि भन्ने चिन्ता कांग्रेस नेताहरुमा देखिन्छ । कांग्रेस र एमाले नेताबीच जुहारी नै चल्न थालेको छ । नेपालका नेताहरू एकअर्कामा कुरा मिल्दा गला मिलाउने र कुरा नमिल्दा गाली गर्ने कुनै नौलो कुरा होइन । एउटा पार्टीको नेताले अर्काको उछितो काट्नु नेपाली नेताको विशेषता नै बनेको छ ।

नेताहरू रिस उठ्यो भने एकले अर्कालाई गद्दार, प्रतिक्रियावादीको एजेन्टजस्ता शब्दावलीले गालीगलौज गर्न पनि पछि पर्दैनन् । स्वार्थ मिल्यो भने सबै गाली बिर्सेर गला मिलाउन पनि लाज मान्दैनन् । अझ सत्तापक्षले प्रतिपक्षलाई र प्रतिपक्षले सत्तापक्षलाई गलत सावित गर्दै गाली गर्नु नियति नै बनेको छ । पछिल्लो समय कोशीको विषयलाई लिएर कांग्रेस र एमालेका नेताबीच जुहारी नै चलेको छ । केन्द्रमा ३२ सिटे माओवादीको फेरो समाएर कांग्रेस हिँडेको भन्दै व्यङ्ग्य गरेका एमाले अध्यक्ष केपी ओलीलाई कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीमा एमाले ८ सिटको पछि लागेको टिप्पणी गरिदिए ।

शर्माले ओलीको नामै लिएर कोशी प्रदेशमा एमाले किन ८ सिटको पछि लागेको भनेपछि एमाले नेता गोकुल बास्कोटालाई सही नसक्नु भयो । बाँस्कोटाले नामै लिएर शर्माप्रति झोक्किए । उनले आफ्नो नेताको व्यवस्थापन गर्न नसकेको रिस आफूहरूमाथि नपोख्न चेतावनीसमेत दिए । हिम्मत भए कोशीमा विद्रोह गरेका ८ सांसदलाई कारबाही गरेर देखाउन चुनौतीसमेत दिए ।

कोशीबाट पार्टीभित्र विद्रोहको घण्टी बजाएका शेखरलाई कांग्रेस सभापति देउवा र माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले गठबन्धन नभत्काउन लिखित सहमति नै गराउने अवस्था बन्यो । तर, देउवा, प्रचण्ड र शेखरबीचको लिखित सहमति कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रद्धीको टोकरीमा फालिदिएका छन् । एमालेका नेताहरूले कोशीबाट सुरु भएको नयाँ समिकरण अन्य प्रदेश र केन्द्रमा पनि बन्ने दाबी गरेका छन् ।

एमाले शेखर कोइरालालाई साथमा लिएर वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छ । त्यही कारण एमालेले कोशीमा ढोक्सा थापेको हो । ओलीप्रति शेखर बफादार भए भने एमालेको ढोक्सामा सहजै माछा पर्ने देखिन्छ ।