विदेश

युद्ध झनै चर्कियो, मुस्लिम देशको मोर्चा हमासले सम्हाल्दै, प्रतिकारमा उत्रियो इजरायल ! विश्व विभाजित


काठमाडौँ — दक्षिणी इजराइलमा हमासले आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको युद्ध अझै रोकिएको छैन । जारि युद्धमा ठूलो जनधनको क्षति भएको छ भने दुवैतर्फ गरी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजापट्टी कब्जा गर्नु इजरायलका लागि ठूलो गल्ती हुन सक्ने प्रतिक्रिया दिएका छन् । हमासले प्यालेस्टाइनको प्रतिनिधित्व नगर्ने भएकाले गाजापट्टी कब्जा गर्नु हमासविरुद्धको जित मात्र नहुने उनको भनाई छ ।

गत अक्टोबर ७ मा इजरायलमा हमासले गरेको अकस्मात र भयानक हमलापछि मध्यपूर्वको अवस्था तीव्र गतिमा परिवर्तन हुँदैछ । हमासको आक्रमणमा १३०० भन्दा बढी इजरायली नागरिकको मृत्यु भएपछि इजरायलले गाजामा बमबारी गरेको ९ दिन पुगेको छ । गाजा सीमामा इजरायली सेनाका तीन लाखभन्दा बढी सैनिक तैनाथ छन् । ट्याङ्क र तोपखाना बाहेक इजरायलले भारी हतियार तैनाथ गरेको छ । यद्यपि, इजरायली सेनाले गाजामा आफ्नो प्रतीक्षित जमिनी आक्रमण अझै सुरु गरेको छैन । यसैबिच इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहियानले मध्यपूर्वका नेताहरूसँग भेटघाट गरिरहेका छन् ।

इराक र सिरियाको भ्रमण सकेर इरानी विदेशमन्त्री शनिबार लेबनान र कतार पुगेका छन् । उनले इजरायललाई गाजामा आक्रमण रोक्न आह्वान गरे र सँगै चेतावनी पनि दिए । उनले भने यदि लेबनानको हिजबुल्लाह संलग्न भयो भने द्वन्द्व मध्यपूर्वका अन्य क्षेत्रमा फैलिन सक्छ । यस्तो भयो भने इजरायलले ठूलो भूकम्पको सामना गर्नुपर्नेछ । लेबनानको राजधानी बेरुतमा पत्रकारहरूसँग कुरा गर्दै इरानी विदेशमन्त्रीले हिजबुल्लाहले द्वन्द्वको सबै अवस्थाको मूल्याङ्कन गरेको र इजरायलले तुरुन्तै गाजामा आक्रमण बन्द गर्नुपर्ने बताए ।

इरानले संयुक्त राष्ट्र मार्फत इजरायललाई सन्देश दिएको छ कि यदि गाजामा इजरायलको अभियान जारी रह्यो भने, विशेष गरी इजरायलले गाजामा जमिन आक्रमण गरेमा, इरानले हस्तक्षेप गर्नुपर्नेछ । इरानको यो सन्देश यस्तो समयमा आएको हो जब अमेरिकाले इरान र हिजबुल्लाहलाई गाजा द्वन्द्वमा संलग्न हुनबाट रोक्ने प्रयास गरिरहेको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजापट्टी कब्जा गर्नु इजरायलका लागि ठूलो गल्ती हुन सक्ने बताएका छन् ।

अमेरिकी टेलिभिजन सीबीएससँगको कुराकानीमा बाइडेनले हमासले प्यालेस्टाइनको प्रतिनिधित्व नगर्ने भएकाले गाजापट्टी कब्जा गर्नु हमासविरुद्धको जित मात्र नहुने बताए । उनले अन्तवार्तामा भने हमास र हमासका चरमपन्थी लडाकुले सबै प्यालेस्टाइनीको प्रतिनिधित्व गर्दैनन्, त्यसैले गाजा कब्जा गर्नु ठूलो गल्ती हुनेछ । बाइडेनले युद्धको नियममा रहेर इजरायलले हमासविरुद्ध कारबाही गर्नुपर्ने बताए । यता विदेशी नागरिकहरूलाई इजिप्ट भाग्न अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले अस्वीकार गरेको छ ।

यद्यपि उत्तरी गाजाबाट दक्षिणतिर भाग्न स्थानीय समयअनुसार बिहान ८ बजेदेखि दिउँसोसम्म सीमित समय थप्न इजरायली सेनाले वाचा गरेको छ । इजरायल, इजिप्ट र अमेरिकाबीच गाजा र इजिप्टको बीचमा रफाह पार गर्न विदेशी नागरिकलाई भाग्न र राहत सामग्रीहरू प्रवेश गर्न अनुमति दिन उक्त प्रवेशद्वार केही घन्टा खोल्न सहमत भएको समाचारहरूमा बताइएको थियो । तर नेतान्याहुको कार्यालयले एक विज्ञप्तिमा विदेशीहरूलाई हटाउनुको बदलामा गाजामा युद्धविराम र मानवीय सहायता हाल नरहेको बताएको छ । शनिबार देखिको युद्धमा दुवैतर्फ गगि मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ ।