Breaking

गगन–शेखर फेरि टसल, धनराज पनि देउवातिरै, एक्ला शेखर झन शक्तिशाली ?


काठमाडौँ — कांग्रेस नेता शेखर कोइराला पक्षका केदार कार्की एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेपछि नेपाली राजनीति तरंगित बनेको छ । कार्की मुख्यमन्त्री बनाउने सुत्रधार शेखरले सत्तारुढ गठबन्धन र एमाले दुबै पक्षलाई प्रभावका परेका छन् । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीको पक्षमा कांग्रेस–माओवादी गठबन्धन पनि उभिएको छ ।

के शेखर कोइराला केन्द्रीय सत्तासमिकरणमै फेरबदल चाहन्छन ? नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनको कार्यशैलीप्रति निरन्तर आक्रोश पोस्दै आएका कांग्रेस नेता शेखर कोइरालाले कोशी प्रदेशको राजनीतिक कोर्ष नै बदलिदिएका छन् । एमालेको समर्थनमा आफुनिकट केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गराएर कोइरालाले बालुवाटारको निर्णयले मात्रै केही हुँदैन भन्ने प्रमाणित गराइदिएका छन् । कोइरालाले सुशासनको पक्षमा प्रचण्ड नेतृत्वको सरकारले काम गर्न नसकेको भन्दै विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् ।

सुदूरपश्चिमबाट हालको सत्तारुढ गठबन्धनको आधार तयार भएको थियो । अहिले फेरि कोशीबाट नयाँ सत्तासमिकरणको संकेत गरेको छ । यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाले वर्तमान सत्ता गठबन्धनलाई कुनै पनि अवस्थामा कमजोर हुन नदिने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । कोइरालाप्रतिको गगन थापा र विश्वप्रकाश शर्माको व्यवहारले देउवालाई थप उर्जा मिलेको छ । कोइरालाको अहिलेको कदम ठिक नभएको र एमाले ८ सिटको पछि लागेको महामन्त्रीद्धयको आरोप छ ।

महामन्त्रीद्धयको पछिल्लो धारणबाट कांग्रेसो संस्थापन पक्षलाई उर्जा थपेको छ । आखिर घिउ कहाँ पोखियो, आफ्नै थालमा भन्ने लाइनमा कांग्रेसको संस्थापन पक्ष छ । गत पुस १० गते कांग्रेसले साथ नदिएको भन्दै एमालेको शरणमा पुगेर प्रधानमन्त्री बनेका प्रचण्ड कांग्रेसको कोइराला पक्षको व्यवहारबाट झस्किएका छन् । तर, देउवाको दह्रो साथ प्रचण्डलाई छ । कांग्रेसले यसअघि थालेकै जस्तो ढोक्सा एमालेले कोशी प्रदेशबाट थापेको छ । त्यो ढोक्सा कोशीमै सीमित रहन्छ कि काठमाडौँसम्म आइपुग्छ यकिन छैन ।