Breaking

समाजवादीको केन्द्रीय सदस्य छाडेका डिल्ली उप्रेतीलाई एमालेले प्रदेश कमिटीमा पनि राखेन


काठमाडौँ – नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य छाडेर नेकपा (एमाले) प्रवेश गरेका सर्लाहीका प्रभावशाली नेता डिल्ली उप्रेती एमालेको मधेश प्रदेश कमिटी सदस्यमा समेटिन सकेनन्।

जनकपुरमा हालै सम्पन्न एमाले मधेश प्रदेश अधिवेशनबाट २ सय ३५ सदस्यी कमिटी निर्माण भएको छ। जसमा सर्लाहीबाट एमालेका २७ जना चयन हुँदा उप्रेती छुटेका हुन्।

सर्लाहीको हरिवन गाविसको दुई कार्यकाल अध्यक्ष र यसअघि मधेश प्रदेश सभा सदस्यसमेत भइसकेका उप्रेती गएको साउन १५ गते माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेका थिए। त्यतिबेला एमाले अध्यक्ष केपी ओलीले उनलाई पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वास दिएका थिए।

पार्टीले केन्द्रीय सदस्य बनाउनु त परैको कुरा अहिले उप्रेतीलाई मधेश प्रदेश कमिटीबाट पनि बाइपास गरिएको छ। त्यसप्रति उनी पक्षका कतिपय नेता कार्यकर्ताले असन्तुस्टि जनाएका छन्।

केही समयअघि एमालेको मधेश प्रदेश कमिटीको बैठकले उप्रेतीलाई पार्टीको मधेश प्रदेश समिटी सदस्यमा मनोनित गरेको थियो। तर, महाधिवेशनबाट भने उनी एमालेको प्रदेश कमिटी सदस्यमा पर्न नसकेका हुन्।