समाचार

भक्तपुरमा दशैँसँगै सुरू भयो नवरात मेला


काठमाडौँ – दशैँको सुरूआतसँगै भक्तपुरमा नवरात (नौ राते) मेला सुरू भएको छ ।

पहिलो दिन आइतबार ब्रम्हायणीमा मेला लागेको छ । प्रत्येक वर्ष दसैंको घटस्थापनासँगै सुरू हुने नौ राते मेला भक्तपुरका विभिन्न नौ शक्तिपीठमा लाग्ने गर्दछ ।

रातको समयमा मेला लाग्ने भएकोले स्थानीयहरू यसलाई नवरात अर्थात् नौ राते मेला भनेर बुझ्छन् ।

मेला बिहान पनि मेला लाग्छ तर बिहानको तुलनामा साँझको समयमा मेला भर्नेको संख्या धेरै हुन्छ । साँझमा बाजागाजाका साथ टोलटोलबाट भक्तजनहरू सहभागी हुने गर्छन् । त्यसकारण यसलाई नवरात मेला भनेर बुझिन्छ ।

नवरातको नौ दिन नौ छुट्टाछुटै शक्तिपीठमा बिहान र साँझ दिनमा दुई पटक मेला लाग्ने गर्छ । यस अनुसार पहिलो दिन भक्तपुरको ब्रम्हायणीमा मेला लाग्छ । अन्तिम दिन पनि यही ठाउँमा मेला लाग्छ ।

परम्परा अनुसार पहिलो दिन ब्रम्हायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौं दिन बाराही, छैटौं दिन इन्द्रयाणी, सातौ दिन महाकाली, आठौ दिन महालक्ष्मी, नवौं दिन त्रिपुरासुन्दरी र अन्तिम दिन अर्थात विजया दशमीको दिन फेरि ब्रम्हायणीमा मेला लाग्ने गर्छ ।

अन्तिम दिन ब्रम्हायणीमा ठूलो मेला लाग्ने गर्छ । यस दिन यो ठाउँमा भक्तपुरसहित काठमाडौँ, ललितपुर र काभ्रेपलान्चोकलगायतका नजिकका जिल्लाहरूबाट हजारौं भक्तालु ब्रम्यहाणी जाने गर्दछन् ।

दशैँका यी दिनहरूमा बिहान र बेलुका भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिर विशेष मेला लाग्ने परम्परा छ । यी मेलाहरुमा नगरभरिका भक्तजनहरू बजागाजाकासाथ उल्लासमय रूपमा सहभागी हुने गर्दछन् । नवरातको क्रममा बालकालिकादेखि वृद्धवृद्धासम्म सहभागी हुने गर्दछन् ।

यसबाहेक भक्तपुरको दसैंका विभिन्न विशेष आकर्षणहरु रहेका छन् । खम्ये जात्रा (राँगो दौडाउने जात्रा), कुछी भ्वय (दुई माना चिउरा नापेर खानुपर्ने विशेष भोज), पायोन्हायाकेगू (भागी विवाह) लगायतका विशेष आकर्षणहरु यहाँको दसैंका आकर्षणहरु हुन् । यीबाहेक पनि दसैंको दस दिन भक्तपुर नगरका ठाउँठाउँमा विभिन्न मेला जात्रा हुने गर्दछन् ।

कला संस्कृति भजन महागुठी भक्तपुरका संस्थापक अध्यक्ष डा इन्दुल केसी दशैँ देशभर मनाउने गरे पनि भक्तपुरको दशैँ विशेष आकर्षण रहने सुनाउँछन् । उनका अनुसार दशैँको दस दिनमा भक्तपुरमा विशेष भोज, जात्रा, मेला लाग्ने गर्दछन् । प्रत्येक दिन एकएक शक्तिपीठमा जात्रा हुने गर्दछ ।

आजको विशेष

आज नेपाल स्काउट राष्टिय साहयक प्रशिक्षक बालकृष्ण बनमालाले हरेक वर्ष दशमीको पहिलो दिन वितरण गर्दै आएको बताउँछन् ।

निओ फ्युजन ओपन रेन्जर क्रु र ख्वपरिंग ओपन रेन्जर क्रू को संयुक्त आयोजनामा पांगो माटो वितरण गरेको प्रशिक्षक बनमालाले जानकारी दिए ।

मेला आउने भक्तजनहरुले घरघरमा जमारा राख्नको लागि पांगो माटो लिएर जाने भएका कारण सहज बनाउने हेतुले यो कार्य गर्दै आएको बनमाला सुनाउँछन् । यसको लागि करिब सय जना स्काउट परिचाल गरिएको उनले जानकारी दिए ।