विदेश

झनै चर्कियो युद्ध, आक्रामक बन्दै इजरायल, हतियार जुटाउँदै प्यालेस्टाईन, नागरिक घरविहीन, घाईतेले पाएनन् उपचार


काठमाडौँ — इजरायल र प्यालेस्टिनी हमास समुहबीच युद्ध सुरु भएको १ हप्ता पुगेको छ । जारी युद्धमा दुबैतर्फ गरि मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ । युद्ध चलिरहेकै बेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विपक्षी दलसँग मिलेर राष्ट्रिय अपतकालिन सरकार गठन गर्ने को घोषणा गरेका छन् । इजरायल र हमासबीच जारी युद्धले शनिबार एक हप्ता पार गरेको छ । गएको शनिबारदेखि सुरु भएको युद्धका कारण ३ हजारभन्दा बढिले ज्यान गुमाए भने अस्पतालहरुमा हजारौँ बिरामीहरु भर्ना भएका छन् ।

युद्ध सुरु भएको एक हप्ता वितिसक्दा पनि तत्काल द्धन्द नियन्त्रण हुने कुनै सम्भावना देखिएको छैन । युद्ध चलिरहेकै बेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र विपक्षी नेताबीत राष्ट्रिय आपतकालिन सरकार गठन गर्ने सहमतिसमेत भएको छ । विपक्षी दलका नेता तथा पूर्व रक्षामन्त्री बेन्नी गान्ट्जसँग प्रधानमन्त्री नेतान्याहूले गरेको सहमति अनुसार युद्ध मन्त्रीपरिषद्मा तीन सदस्य हुनेछन् । प्रधानमन्त्री नेतान्याहु, रक्षामन्त्री योभ ग्यालान्ट र बेन्नी रहेका छन् ।

शनिवार हमासले इजरायल परिधिमा छिरेर बर्बरतापूर्वक हमला गरेपछि इजरायले अहिले गाजामा हमला गरिरहेको छ । युद्ध झन आक्रामक रुपमा अघि बढ्दा गाजा क्षेत्रमा अस्पतालहरु हजारौँ बिरामीले भरिएका छन् । प्यालेस्टाइन सशस्त्र समूह हमास विगतको भन्दा थप आक्रामक देखिएको छ । आफ्ना नागरिक मरेपछि आक्रोशित इजरायलले हवाइ हमला, मिसाइल तथा जलसेनाबाट गाजामा हमला गरिरहेको छ ।

विगतमा गाजामा हमला गर्दा इजरायलले चेतावनी दिने गर्थे । यसपटक विना चेतावनी धमाधम हमला गरिरहेको छ । विगतमा हमलाअघि उसले आकाशमा लडाकु विमान पठाएर साइरन मार्फत हमलाको संकेत दिन्थ्यो । तर उसले अहिले विना कुनै चेतावनी गाजामा अन्धाधुन्ध आक्रमण गरिरहेको छ । इजरायलले ११ लाख गाजाबासीलाइ २४ घन्टा भित्र बाहिर निस्कन आग्रह गर्दै त्यसो नगरे मृत्युका लागि पर्खिन चेतावनी दिएको थियो ।

तर २४ घन्टा नबित्दै इजरायलले सुरक्षित स्थलतर्फ जाँदै गरेका ७० जनाको हवाई आक्रमण गरि हत्या गरे । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएका छन् । हताहत हुनेमा धेरैजसो महिला र बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाका अस्पतालहरूबाट गम्भीर घाइतेहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न असम्भव भएको जनाएको छ । द्धन्द चर्कँदै जाँदा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले उत्तरी गाजाका अस्पतालहरूबाट गम्भीर घाइते बिरामीहरूलाई ज्यान जोखिममा नराखी बाहिर निकाल्न असम्भव रहेको जनाएको छ ।

इजरायलले गाजा भूमि छाड्न भन्दै २४ घन्टे अल्टिमेटम दिए पछि डब्लुएचओले त्यहाँको स्वास्थ्य स्थीतिका बारेमा जानकारी दिएको हो । डब्ल्यूएचओले इजरायललाई गाजाको नाकाबन्दी हटाउन र घेरामा परेको प्यालेस्टिनीहरुको जीवन बचाउनका लागि चिकित्सा आपूर्तिको लागि तुरुन्तै मानवीय कोरिडोर स्थापना गर्न आह्वानसमेत गरेको छ । सातौँ दिनको युद्धमा गाजापट्टीमा मृत्यु हुनेको संख्या २ हजार नाघेको छ भने हमासको आक्रमणमा इजरायलतर्फ १३ सय जनाको मृत्यु भएको समाचारहरु बाहिरिएका छन् ।