Breaking

कोशीमा पल्टियो पासा, शेखरले दिए चक्मा, जीत प्रचण्ड–देउवा कि ओलीको ? अब शेखर प्रधानमन्त्री बन्लान् ?


काठमाडौँ — कोशी प्रदेशमा विद्रोहको अनुमोदन भएको छ । सत्ता गठबन्धनको निर्णयविपरित गएर उम्मेदवारी दिएको शेखर पक्षका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि विद्रोह अनुमोदन भएको हो । तर आफ्नो पक्षले मुख्यमन्त्री पाएलगत्तै शेखर प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवासँग सहमति गरेका छन् । जसले फेरि मध्यावधिकै सम्भावना देखाएको छ । कोशीमा पासा पल्टियो, तर कसको पल्टियो एमाले र गठबन्धन दुवै दुविधामा परेका छन् ।

तर शेखर कोइरालाले बाजी मारेकाछन् । यता एमालेको मत लिएर आफ्नो टीमका केदार कार्कीलाई मुख्यमन्त्री बनाएका शेखरले उता सत्तागठबन्धनका दुई प्रमुख नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रस सभापति शेरबहादुर देउवासँग कागज गरेका छन् । अर्थात शेखरसहित प्रमुख तीन नेताले हस्ताक्षर गरेको हस्तलिखित सहमतिमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं । र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं ।’

शेखरले खेलेको राजनीतिकका कारण सत्ता गठबन्धनलाई क्षति भएपनि यो सहमति पछि एमाले झस्किएको छ । किनकि पासा सत्ता गठबन्धनकै पोल्टामा परेको छ । तर कोशी प्रदेशमा काँग्रेस शेखर पक्षका दाबेदार कार्कीलाई समर्थन गर्नुको अर्थ कोशीमा ढोक्सा थापेर केन्द्रीय सत्ता हल्लाउनु थियो । शेखरको ढाँडमा टेकेर प्रचण्ड–देउवाको टाउकोमा प्रहार गर्नुथियो । जसमा अब कैफियत पनि थपिएको छ । किनकि शेखरले फेरि गठबन्धनप्रति कटिबद्ध छु भन्ने सहमति गर्दै देउवा–प्रचण्डलाई रिझाएका छन् ।देउवालाई पनि घिउ कहाँ पोखियो, आफ्नै भातमा भएको छ । तर शेखरको दुईथरि नीतिले कोशीलाई फेरि मध्यावधिकै संकट छ ।

अब एमालेको सहमति अनुसार शेखर चल्न नसके फेरि पनि अहिले मुख्यमन्त्री बनेको कार्कीले विश्वासको मत पाउने छैनन् । सत्ता गठबन्धन एक्लैको बहुमत पुग्ने छैन । सत्ताका लागि निर्णायक नै मानिएको राप्रपाले कसैलाई समर्थन नदिने भन्दै मझधारमा उभिएको छ । यसको अर्थ कार्कीले विश्वासको मत पाउनका लागि एमालेकै नीतिमा चल्नुपर्ने अवस्था आउन सक्छ । कित एमालेलाई सहमतिमा ल्याएर सर्वदलीय सहमतिको सरकार बनाउन सक्नुपर्छ ।नत्र संविधानले दिएको अन्तिम विकल्प प्रयोग गरि मुख्यमन्त्री बनेका कार्की ३० दिनपछि टाट पल्टिएर पुरानै हैसियतमा फर्किने छन् । कोशीमा दलहरुले नचाहेको मध्यावधि निर्वाचन हुनेछ ।

कोशीमा शेखर सहमतिको बफादार बने प्रधानमन्त्री बनाउनसक्नेसम्मको तयारी एमालेको छ । देउवालाई फकाउँदा फकाउँदा हैरान भएका ओली अहिले शेखरलाई खेलाएर सत्ता ढाल्ने दाउमा छन् । तरपनि शेखरलाई हानी छैन । प्रचण्ड–देउवालाई तह लगाउने अस्त्रका रुपमा प्रयोग भएका शेखरले एमालेकै समर्थनमा प्रधानमन्त्री बन्ने अवसर पाउन सक्छन् । तर त्यसका लागि काँग्रेसभित्रका आधा सांसद फुटाएर ल्याउनसक्नुपर्ने चुनौत भने शेखरका अघि छ ।

गगन थापा र विश्वप्रकाश शर्मासहितका सांसदहरुलाई मिलाएर आफ्नो लयमा हिडाउन सक्नुपर्ने छ । जुन निकै चुनौतीपूर्ण हो । फलतः अब मात्र दुई विकल्प बाँकी छन्, कि कोशीमा मध्यावधिमा जानुको विकल्प छैन, कि शेखरकै साथमा ओलीले प्रचण्ड नेतृत्वको सरकार नै ढाल्नेछन् ।