Breaking

दुर्गा प्रसाईँ र महेश बस्नेत आमनेसामने, काठमाडौंको रिस झापामा फेरे, दुई समूहबीच ठोकाठोक


काठमाडौँ — अभियन्ता दुर्गा प्रसाईँ र एमाले नेता महेश बस्नेतबीचको विवाद थप पेचिलो बनेको छ । प्रसाईँलाई एमाले युवाहरुले काठमाडौंमा कालो दलेका थिए । त्यसको पैंचो तिर्छु भनेका प्रसाईँले आज झापामा तोडफोड गरेका छन् । दुर्गा माताको कसम म कसैलाई छोड्दिन’ भनेका दुर्गा प्रसाईँले काठमाडौंमा खाएको कालोमासोको बद्ला झापामा तोडफोड गरि लिए । एमालेनिकट युवा संघले सोमबारमात्रै प्रसाईँलाई कालोमोसो दलेको थियो । बिहिबार उनै प्रसाईँका मान्छेहरुले झापामा महेश बस्नेतसहितका गाडीमा तोडफोड गरेका छन् ।

झापाको अर्जुनधारामा युवा संघको नगर अधिवेशन थियो । कार्यक्रम स्थलमा एमाले नेता महेश बस्नेत र युवा संघका अध्यक्ष क्षितिज थेबे जंगीजंगी बोलिरहेका थिए । तर बाहिर एमाले नेताहरुका लस्कर लगाएर पार्किङ गरिएका झण्डै एक दर्जन गाडीमाथि धमाधम तोडफोड भएको हो । जहाँ दुर्गा प्रसाईँ समर्थकसहित पहिचान पक्षधरहरु सहभागी रहेको प्रहरीले जनाएको छ । तिनै पहिचान पक्षधर जसले यसअघि केपी ओलीलाई झापा हुँदै पाँचथर र ताप्लेजुङसहितका जिल्लामा लखेटेका थिए । तथापी मुख्य भूमिका प्रसाईँकै थियो । अब प्रसाईँ र एमालेबीचको द्वन्द्व शीत युद्ध हुँदै सनसनीपूर्ण युद्धमा प्रवेश गरेको छ ।

प्रसाईँ एमालेकै पूर्व नेता हुन् । चुनावमा टिकट पाएको भए सम्भवतः अहिले पनि ओलीलाई हजुरबा भन्दै पाउचरण गरिरहेका हुन्थे । तर एमालेमा टिकट नपाएपछि पूर्वराजासँग निकट भएका उनी अहिले ओलीसँग भिडिरहेका छन् । मुख्यतः ‘ओली बा’का दुई छोरा अहिले एकअर्कोविरुद्ध भिडिरहेका छन् । ओली बा झापामा छँदाका छोरा दुर्गा प्रसाईं र बालकोटमा बस्दाका छोरा महेश बस्नेतबीच अहिले द्वन्द्व नै चलेको छ ।

अझ माओवादी र काँग्रेसले लखेटेर गर्न नसकेको ओलीको बदनामी प्रसाईँ एक्लैले एकैलटमा गरेका छन् । त्यो पनि प्रचण्ड र ओली सबैको नाडी छामिसकेपछि राजावादीको फेरो समाएर प्रसाईँ द्वन्द्वमा उत्रिएका हुन् । अहिले ओली हुँदै प्रचण्ड देउवा सबैलो देश लुटि खाए र देश लुट्दै बसेका मारवाडीहरुलाई काँखी च्यापे भन्ने गुनासो प्रसाईको छ । यसकै झण्डाफोर गर्न थालेपछि युवा संघले उनीमाथि कालो पोतेको हो ।

बैंक तथा वित्तिय संस्थाका सञ्चालकहरुलाई कालोमोसो दल्ने अभियान चलाउने प्रसाई गत सोमबार आफ्नै अभियानको सिकार भए । राष्ट्रघाति र लुटेराहरुको फोटो प्रर्दशन गर्ने भन्दै प्रसाईले पत्रकार सम्मेलन गरेलगत्तै महेश बस्नेतका युवाहरुको जत्थाले मोसो दलेको थियो । त्यसको प्रतिरोध स्वरुप काठमाडौंमा शक्तिको ध्वास देखाएका महेशहरुलाई बिहीबार झापामा दुर्गा प्रसाईँका समर्थकहरुले आफ्नो इलाकामा सबै बलियो हुन्छ भन्ने नमुना देखाइदिएका हुन् ।

तथापी यसलाई प्रसाईँको अराजकताका रुपमा हेरिएको छ । फलतः गाडी फुटाउने समूहको अगुवाइ गर्ने दुर्गा प्रसाईँका निकट पात्र विक्रम सुब्बालाई प्रहरीले पक्राउ गरेको छ । तर एमाले नेता महेश बस्नेत पनि प्रसाईँलाई उनकै इलाकामा पुगेर चेतावनी दिन अग्रसर थिए । सांसद अपहरणदेखि पूर्व आईजीपीलाई एमालेमा भित्र्याएर बाको बलमा बाहुबली बन्न खोजेका उनी पनि अराजकमा अराजक र उग्रमा उग्र छन् । अब यी दुईबीचको द्वन्द्व कहाँ पुगेर टुंगिन्छ हेर्न बाँकी छ ।