Breaking

नेपाली लिएर इजरायलबाट उडेको विमान राति १:३० बजे आइपुग्ने


काठमाडौँ — इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई लिएर इजरायलबाट उडेको नेपाल एयरलाइन्सको विमान आज राति १ः३० बजे काठमाडौँ आइपुग्ने भएको छ । विमान दुई सय ५४ नेपाली नागरिक लिएर इजरायलबाट काठमाडौँका लागि उडिसकेको छ।

नेपाली नागरिकको उद्धारका लागि विमान आज बिहान ३ः३० बजे दुबई हुँदै त्यसतर्फ प्रस्थान गरेको थियो। उद्धारका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद विमानमा आफैँ इजरायल गएका छन् । इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली ल्याउनका लागि नेपाल एयरलाइन्सको दुई सय ७४ सिट क्षमता भएको वाइडबडी विमान इजरायल गएको हो ।

शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए । एक जना नेपालीको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले नपाली नागरिकलाई सुरक्षित स्थानमा सर्न र उद्धार हुन आग्रह गर्दै नेपाल फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत सङ्कलन गरिरहेको छ ।

हालसम्म तीन सय ५० भन्दा बढी नेपाली नागरिकले आफ्नो विवरण उपलब्ध गराएका छन्। विवरण दिनेमध्ये दुई सय ८८ जनाभन्दा बढीले नेपाल फर्कन चाहेको बताएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।