Breaking

इजरायल vs प्यालेस्टाइनः एकैपटक ५ हजार रकेटको हमाल, को कति शक्तिशाली, यस्तो छ लेखा–जोखा


काठमाडौँ — इजरायलमा प्यालिस्टाईनी लडाकू समूह हमासले गरेको आक्रमणले यति बेला संसारको ध्यान खिचेको छ । दशकौं देखिको चल्दै आएको इजरायल र प्यालिस्टाईनबीचको द्वन्द्वमा अहिले को ? शक्तिशाली भन्ने चर्चा र जिज्ञासा सुरु भएको छ । प्यालेस्टाइनी विद्रोही समुह हमासले एकाएक इजरायलमा आक्रमण सुरु गरेपछि युद्ध थप चर्किएको छ ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टी नियन्त्रण गर्ने प्यालेस्टाइनी लडाकु समूह हमासविरुद्ध युद्धको घोषणा गरेका छन् ।

एकातिर इजरायल छ, जो संसारकै सबैभन्दा शक्तिशाली सेना मध्ये एक हो । अर्काेतर्फ गाजा पट्टी नियन्त्रण गर्ने प्यालेस्टिनी लडाकु समूह हमास छ । रुस–युक्रेन युद्धपछि इजरायल र हमासबीच अर्काे युद्धको शंखघोष भएसँगै अहिले यी दुईबीचको शक्ति मापन सुरु भएको छ । हातहतियार र शैन्य कसको कति ? इजरायल– इजरायल सैन्य शक्तिकै कारण, संसारको सबैभन्दा शक्तिशाली देशहरू मध्ये एक मानिन्छ ।

इजरायलको सेना विश्वको १८ औं शक्तिशाली सेनाको सूचीमा पर्छ । इजरायलसंग कूल ६ लाख ४६ हजारभन्दा बढी सैनिक छन् । एक लाख ७३ लाख सैनिक जुनसुकै बेला युद्धका लागि तैनाथी अवस्थामा हुन्छन् । यसको अलवा ४ लाख ६५ हजार सैनिक रिजर्भका रुपमा इजरायलले व्याकअप राख्ने गरेको छ । इजरायलको शक्ति यतिमा मात्रै सिमित छैन । उसंग ८ हजार भन्दा बढी सिपाहीहरू भएको अर्धसैनिक बल छ ।

त्यस्तै ८९ हजार वायु सेना, २ लाख भूमि सैनिक र २० हजार जल सेनाहरु छन् । यो त जनशक्तिको एक हिस्सा हो । वायु शक्तिको कुरा गर्ने हो भने इजरायलसँग ६०१ विमान छन् । जसमध्ये ४ सय ८१ विमान जुनसुकै समयमा युद्धका लागि तैनाथ हुन्छन् । २ सय ४१ फाइटर जेटहरू मध्ये १ सय ९३ फाइटर जेटहरू आवश्यक परेको बेला दुश्मनमाथि आक्रमण गर्न तयार हुन्छन् । इजरायलसँग २६ प्रकारका आक्रमण जेटहरूसमेत छ । त्यस्तै विशेष मिसनका लागि २३ विमानहरू मध्ये १८ कुनै पनि समयमा तयारी अवस्थामा हुने गरेको छ ।

एक सय २६ मध्ये १ सय १ हेलिकप्टर जुनसुकै समयमा युद्धमा जान स्टेन्डवाई राखिन्छ । त्यस्तै ४८ वटा आक्रमण हेलिकप्टर छन्, जसमध्ये ३८ उडानको लागि सधैं तयार छन् । इजरायलसँग २ हजार २ सय भन्दा बढी ट्यांकहरू छ भने जम्मा ५६ हजार २९० युद्धका लागि प्रयोग हुने सवारी साधन छन् । पाँच सय २० सीमामा तैनाथ, ६ सय ५० स्वचालित तोपहरु रहेको इजरायलसँग मल्टिपल लन्चर रकेट आर्टिलरी (एमएलआरएस) ३ सय छन् । यसबाहेक जल सेनासँग छुट्टै ६७ वटा जहाज, ७ कार्वेट्स, ५ पनडुब्बी र ४५ गस्ती जहाज छ ।

इजरायलसँग हवाई आक्रमण रोक्न आफ्नै प्रतिरक्षा प्रणाली आइरन डोम छ । यसमा काउन्टर रकेट आर्टिलरी र मोर्टारको साथ छोटो दूरीको वायु रक्षा प्रणालीसमेत इजरायलले विकास गरेको छ । यतिका हातहतियार र सेनासहितको शतिशाली देश इजरायललाई अहिले प्यालेस्टाइनले युद्ध लड्न ललकारेको छ । प्यालेस्टाईन– कुनै पनि सैनिक नभएको प्यालिस्टाईन त्यहाँको चरमपन्थी समूहको नियन्त्रणमा छ ।

त्यसो त हमास लडाकू समूह भएका कारण उनीहरुको सैन्य तथ्यांक भेटिदैँन । बीबीसी रिपोर्टका अनुसार हमाससँग रकेटदेखि मोर्टार र ड्रोन हमलासम्म गर्न सक्ने हातहतियार सबै छ । इजरालयलको सबैभन्दा सुरक्षित ट्यांक मार्कावा आईभीलाई नष्ट गर्न हमासले पहिलो पटक सशस्त्र ड्रोनकै प्रयोग गरेको थियो । जल स्थल र हवाई सबैतिरबाट आक्रमण गरेको इजरायलमा पाँच हजारभन्दा बढी रकेट आक्रमणको तथ्यले अपेक्षाकृत उन्नत प्रविधिलाई संकेत गर्छ । हमासलाई इरानबाट हतियार बनाउन सहयोग गरेको दावी इजरायलको छ ।

हमासले इरान र सिरियासँग नजिकको गठबन्धन कायम राख्दा, यसले फजर–३, फजर–५, इरानी आर–१६०, र एम ३०२ रकेटहरू समेत हतियार खरिद गरेको छ । तिनीहरूसँग ड्रोन, एन्टी–ट्याङ्क मिसाइल र काँधमा प्रक्षेपण गरिएका रकेटहरू पनि छन् । चिनियाँ सी–७०४ क्षेप्यास्त्र, ३५ किलोमिटर (२१ माइल) दूरीको एन्टी–शिप मिसाइल र निर्देशित मिसाइलहरूका लागि राडार प्रणाली प्राप्त गर्ने योजनामा हमास छ ।

हमास संग के कति लडाकु र हातहतियार छ भन्ने स्वतन्त्र पुष्टि भएको छैन । यद्यपी इजराय संग युद्ध छेडेको हमास पनि सोचे जस्तो सामान्य अवस्थामा नरहेको विश्लेषण सुरु भएको छ । अहिले इजरायलमा हमास छिरेपछि हमासको शक्ति कति भन्ने खोजी सुरुभएको छ । इजरायलले वर्षाैदेखि आफ्नो रक्षा संयन्त्र गाजा क्षेत्रमा केन्द्रित गरेको छ । ऊसँग विश्वकै खुँखार जासुसी संयन्त्र मोसाद छ भने रकेट रोक्नका लागि अत्याधुनिक प्रविधि आइरन डोम छ ।

तर रक्षाकवचका रुपमा यतिका अस्त्र लिएर बसेको इजरालमा हमास घुसेरै वार गरेपछि हमासलाइ पनि नजर अन्दाज गर्न नहुने तर्क सुरु भएको छ । विभिन्न तनाव, टकराव र द्वन्द्वका बीच इजरायल सुरक्षित रहेको धेरैको विश्लेषण थियो । तर हमासले बिजुली गतिमा कसैले नसोचेको हमला गरेपछि इजरायली सुरक्षा संयन्त्रप्रति गम्भीर प्रश्न उठेको छन ।

अन्तरराष्ट्रिय समाचार माध्यमहरुले खुँखार जासुसी संयन्त्र सहितको अत्याधुनिक प्रतिरक्षा रहेको इजरायली सेनाका अघि हमासको तुलना गर्न नमिल्ने बताईरहँदा चक्मा खुवाउँदै शनिबार हमासले आक्रमण गरेपछि इजरालले युद्धको घोषणा गरेको छ ।अव यो मथ्थर हुने भन्दा थप चर्किएर जाने देखिन्छ ।