समाचार

परराष्ट्रमन्त्री साउदको आग्रहः द्वन्द्वरत मुलुक इजरायलको भ्रमण नगर्नू


काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले द्वन्द्वरत मुलुक इजरायलको भ्रमण नगर्न आग्रह गर्नुभएको छ । मंगलबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी गराउँदै उहाँले राजनीतिक तहमा आधिकारिक निर्णय भन्दा बाहेक व्यक्तिगत वा पार्टीगत भ्रमण नगर्न आग्रह गर्नुभएको हो । मन्त्री साउदले १० जना नेपालीहरुको ज्यान जानेगरी इजरायलमा भएका सो दुखद् घटनाको संवेदनशीलतालाई राजनीतिक फाइदा वा बेफाईदाको रुपमा प्रयोग गर्ने काम कुनैपनि तहबाट नहुने विश्वास समेत व्यक्त गर्नुभयो ।

इजरायलमा रहेका नेपालीहरुको समस्यालाई सम्बोधन गर्न सरकार पूर्ण रुपमा प्रतिवद्ध र गम्भिर भएर लागेको उल्लेख गर्दै उहाँले सो काममा संसदीय समिति र त्यसमा रहनुभएका सांसदहरुको पनि सकारात्मक सहयोगको अपेक्षा आफूले गरेको बताउनु भयो । मन्त्री साउदले सो घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरलाई समेत ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चार माध्याम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भुमिका निर्वाह गर्न सबैलाई आह्वान गर्नुभयो ।

मन्त्री साउदले सो द्वन्द्वको चपेटामा परेका सबै नेपालीहरुको उद्धार गरिएको पनि समितिलाई जानकारी गराउनु भयो । उहाँले इजरायलमा रहेका नेपालीहरुको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरुलाई सुरक्षित तवरले रहने प्रवन्ध गर्न, उद्धार तथा सहयोग गर्नका लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरण भइरहेको र त्यस काममा नेपाली राजदुतावासहरुलाई सक्रिय रुपमा परिचालन गरिएको पनि बताउनु भयो ।

सो द्वन्द्वमा परी १० जना नेपालीको निधन भएको छ भने ४ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको र १ जनासँग अहिले पनि सम्पर्क स्थापित हुन नसकेको सरकारले जनाएको छ । मन्त्री साउदका अनुसार इजरायलको दक्षिण क्षेत्रको तुलनात्मक रुपमा जोखिमयुक्त क्षेत्रमा बंकर भित्र आश्रय लिइराखेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जनालाई हिजो (सोमवार) इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।