Breaking

इजरायल भ्रमण नगर्न सरकारको आग्रह


काठमाडौँ – सरकारले इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न सुझाव दिएको छ । इजरायलको अवस्था अझै सामान्य नभएकाले भ्रमण नगर्न सरकारले भनेको हो ।
सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले कुनै पनि संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न सुझाव दिएका हुन् ।
उनले इजरायलमा रहेका नेपालीहरुको अवस्थाबारे समितिले जानकारी समेत गराए । मन्त्री साउदका अनुसार इजरायलमा चार हजार ५०० जना नेपाली केयर गिभरको रुपमा कार्यरत छन् ।

यसैगरी लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत २६५ जना विद्यार्थीहरु इजरायलमा रहेको र तीमध्ये १० जनाको चरमपन्थी समूह हमासले गरेको आक्रमणमा परी मृत्यु भएको मन्त्री साउदले जानकारी गराए ।

शवहरु, बंकरबाट सुरक्षित स्थानमा सारिएका र नेपाल आउन इच्छुक अन्य नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउने तयारी भइरहेको उनले बताए । नेपाल फर्किन इच्छुकका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था समेत गरिएको छ ।