Breaking

खुल्यो अग्रिम टिकट, काउन्टरमा भीड, अनलाईनको छैन भर, सडक खाल्डैखाल्डा, घर पुग्ने कहिले ?


काठमाडौँ — दशैँमा घर जाने यात्रुका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । सडकको स्तरोन्नतिमा सरकारको ध्यान जान नसक्दा केही ढिलो गरि खोलिएको टिकट बुकिङको पहिलो दिन नै काउण्टरमा यात्रुहरुको भीडभाड देखियो । वडा दशैँ लगायतका ठूला चाड नजिकिएसँगै आ–आफ्नो पूख्र्र्यौली घर फर्कन चाहने यात्रुका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ सुरु भएको छ ।

काठमाडौंदेखि देशका विभिन्न ठाउँमा जाने लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएको हो । सोमबार बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ सुरु भए पनि यात्रुहरु ४ बजेदेखि लाइनमा बसेका थिए । सडकको स्तरोन्नतिलाई कारण देखाउँदै विगतका वर्षहरुमा भन्दा यसपटक केही ढिला गरि अग्रिम टिकट बुकिङ खोलिएको छ ।

बाटो असुरक्षित भएको कारण यात्रुहरुलाई गन्तव्य स्थलसम्म लैजान चुनौती हुन सक्ने यातायात व्यवसायीको भनाई छ । सरकारले अग्रिम टिकट बुकिङ खुला गरेर औपचारिकता मात्रै पूरा गर्नुभन्दा सडकको स्तरोन्नतिमा ध्यान दिन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आग्रह गरेको छ ।

बसपार्क डिजिटल युगमा गइसकेपछि सहज हुन्छ भने पनि यात्रुले त्यसको अनुभूति भने गर्न पाएका छैन । प्रत्येक वर्ष झै यस वर्ष पनि यात्रुहरुले सास्ती खेपेर टिकट काट्न बाध्यछन् । । प्रविधिले ठूलै फड्को मारे पनि नेपाली यात्रुहरु अझै पनि त्यही पुरानै सास्तीबाट गुज्रिरहनु परेको छ । गत वर्षको तुलनामा अलि व्यवस्थित भएपनि अनलाइन टिकटमा सरकारको चुकेको यात्रुहरुको गुनासो छ । बसपार्कमा यति भीड छ कि पुग्नु पर्ने गन्तव्यको टिकट नपाउँदा, यात्रुहरु त्यसकै निटक ठाउँको टिकट बुकिङ गर्न बाध्य छन् । उनीहरुले जिल्ला अनुसार टिकट काउण्टर राख्न सुझाव दिएका छन् ।

त्यस्तै यात्रुहरुको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । काठमाडौं जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । विभिन्न टेक्नोलोजीको सहायतामा आम नागरिकलाई सुरक्षित हिसावले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्तिसहित तयारी अवस्थामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्रबहादुर खत्रीले जानकारी दिएका छन् । सुरक्षाकै लागि भनेर यसपटक बढि भीडभाड हुने स्थानमा ड्रोनबाट निगरानी गरिने भएको छ ।

हरेक वर्ष दशैं, तिहार र छठ जस्ता ठूला चाडपर्वमा काठमाडौँबाट लाखौं यात्रु बाहिरिने गर्छन् । विशेष गरी संघीय राजधानी काठमाडौंबाट आ–आफ्नो घर फर्किने यात्रुले अग्रिम टिकट लिने गर्दछन् । त्यसैले लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ । दशैँ तिहार मनाउन यस पटक करिव १६ लाख मानिसहरुले काठमाडौं छोड्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको थियो ।