Breaking

विश्व शेर्पा संघको अध्यक्षमा थेण्डुप शेर्पा सर्वसम्मत निर्वाचित

ग्लोबल शेर्पा 'डे' भव्यरूपमा सम्पन्न


काठमाडौँ – विश्व शेर्पा संघको दोस्रो महाधिवेशन तथा ग्लोबल शेर्पा ‘डे’ भव्यरूपमा सम्पन्न भएको छ ।

आइतबार काठमाडौँमा धर्मगुरू ठुल्सिक याङसी ङवाङ जिग्मे ठिन्ले कुनख्याब रिम्पोछेको प्रमुख आतिथ्यमा विश्वभरका शेर्पा समुदायका संघसंस्थाका प्रतिनिधि र नेपालका रहेका विभिन्न संस्थाहरूको प्रतिनिधिको उपस्थितिमा ग्लोबल शेर्पा ‘डे’ तथा विश्व शेर्पा संघको दोस्रो महाधिवेशन भव्यरूपमा सम्पन्न भएको हो ।

ग्लोबल शेर्पा ‘डे’ को अवसरमा आयोजना गरिएको विश्व शेर्पा संघको दोस्रो महाधिवेशनबाट अध्यक्षमा थेण्डुप शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघको वरिष्ठ उपाध्यक्षमा ङिमा शेर्पा, उपाध्यक्षमा नाम्ग्याल शेर्पा, महासचिमा आङ जाङबु शेर्पा, सचिवमा टी.टी शेर्पा, कोषाध्यक्षमा नुर्बु शेर्पा र सह कोषध्यक्षमा दावा कर्मा शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

निर्वाचित अध्यक्षलगायत कार्यसमितिलाई निर्वाचन मण्डलका अध्यक्ष पूर्वमन्त्री आङ छिरिङ शेर्पाले मातृभाषामा शपथ गराउनुभएको थियो । कार्यक्रममा विभिन्न देशबाट सहभागी प्रतिनिधिहरूले संघले विश्वभर रहेका शेर्पाहरूलाई एकीकृत गर्न र भाषा संस्कृतिमा एकरूपता ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वस व्यक्त गरेका छन् ।

विश्वभर छरिएर रहेका शेर्पाहरूको भाषा संस्कृति र रितिरिवाजमा एकरूपता ल्याउन र विश्वभरका शेर्पाहरूलाई एकीकृत गर्ने उद्देश्यले सन् २०१७ मा आङ दोर्जी शेर्पा (एडी)को अध्यक्षतामा विश्व शेर्पा संघ संगठन गरिएको थियो । संघ संगठन भएको खुसियालीमा विश्वभरका शेर्पाहरूले प्रत्येक वर्ष अक्टोबर ८ लाई ग्लोबल शेर्पा “डे”को रूपमा मनाउँदै आएका छन् ।
शेर्पा वल्र्ड नामक एप्स सार्वजनिक

ग्लोबल शेर्पा “डे” को अवसरमा विश्व शेर्पा संघले निर्माण गरेको शेर्पा वल्र्ड नामक एप्स सार्वजनिक गरिएको छ । संघका नवनिर्वाचित महासचिव आङ जाङबु शेर्पाका अनुसार दोस्रो महाधिवेशनमा शेर्पा वल्र्ड नामक एप्स सार्वजनिक गरिएको हो ।


‘शेर्पा वल्र्ड एप्स’ अहिलेको नयाँ प्रविधिमा निर्माण गरिएको हुँदा एप्स प्रयोगकर्ताले अनिवार्य कार्ड किन्नुपर्ने र सो कार्डबाट ४ जनाले एप्स प्रयोग गर्न सक्ने एप्स निर्माणकर्ता ङिमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाले एप्समार्फत भाषा प्रयोग, उच्चारणको शैली सिक्नुको साथै एप्समा शेर्पाहरूको विवाह, जन्मलगायत सामाजिक संस्कारका विषय राखिएको बताउनु भयो ।

एप्समार्फत शेर्पा, सम्भोटा, नेपाली र अंग्रेजी भाषा अनुवाद हुनेछ । त्यस्तै एप्समा शेर्पा भाषाको शब्द बाचन लगायतको सुविधा रहने शेर्पाले जानकारी दिनुभयो । एप्सले शेर्पाहरूलाई मात्रै नभएर शेर्पा भाषा सिक्न चाहने शोधकर्ताहरूलाई समेत सहयोग पुग्ने निवर्तमान अध्यक्ष आङ दोर्जी शेर्पाले बताउनुभयो ।

हाललाई ‘शेर्पा वल्र्ड एप्स’ प्रयोगका लागि प्रतिकार्ड १ हजार तोकिएको संघले जनाएको छ । यो एप्स कार्ड ५० हजार शेर्पालाई बिक्री वितरण गर्ने संघको लक्ष्य रहेको निवर्तमान अध्यक्ष शेर्पाले बताउनुभयो । एप्सलाई सरल र सहज रूपमा प्रयोगका लागि उच्च प्रविधि अपनाइएको उहाँले बताउनुभयो ।

अक्टोबर ८ दोस्रो महाधिवेशन सम्पन्न भएपछि अक्टोबर ९ मा अधिवेशनमा सहभागीलाई शेर्पा समुदायको बसोवास रहेको सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँमा रहेका शेर्पा गाउँहरूको अवलोकनमा प्रस्थान गरेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । सो क्रममा भोटेकोसी गाउँपालिकाको सेलाङकट्टी रहेको ४ सय वर्ष पुरानो ऐतिहासिक मानव खप्पर (नाङदेन) दर्शन गराइने छ ।

शेर्पाका अनुसार अवलोकनको क्रममा शेर्पा समुदायको मौलिक नृत्य स्याब्रु, शेर्पाको मौलिक गीत-संगीत र परम्परागत खानका परिकार प्रस्तुत गरिने छ । शेर्पा गाउँको अवलोकन क्रममा प्रतिनिधिहरूले चीनको सीमासम्म भ्रमण गरेर अक्टोबर १० मा काठमाडौँ फर्किने र ११ मा नेपाल शेर्पा संघको भवनमा विदाई कार्यक्रम गरिने कार्यक्रम व्यवस्थापन संयोजक च्याङा शेर्पा (साहिल) ले बताउनुभयो ।