Breaking

चाडपर्व लक्षित सहुलियत पसल काठमाडौं उपत्यकासहित देशभर सञ्चालनमा


काठमाडौँ– सरकारले दशैँ, तिहार, छठ लगायत चाडपर्व लक्षित आइतबादेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । आईतवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशभरका चाडपर्व लक्षित सहुलियत पसलको औपचारिक उद्घाटन गर्नुभएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वागमती प्रदेशिक कार्यालय थापाथलीबाट मन्त्री रिजालले सहुलियत पसलको उद्घाटन गर्नुभयो । सरकारले हरेक वर्ष देशभरका विभिन्न क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सहुलियत पसलहरु सञ्चालन गर्छ । जसअनुसार यो वर्ष पनि सरकारले उपभोक्ताको सहजताका लागि काठमाडौं उपत्यका र बाहिर गरी ४९ बिक्री स्थल राखेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले मुलुक भरका ४३ जिल्लाका ४९ स्थानहरुबाट आजदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको बताउनु भयो । उहाँले सहुलियत पसलमा खाद्य वस्तुहरुका चामलमा प्रतिकेजी सात र खाने तेल लगायतका वस्तुहरुमा पनि ७ रुपैयाँ छुट दिएको बताउनु भयो । उहाँले कर्णालीका उत्पादन गेडागुडी, खसी बोका र भेडा च्याङ्ग्रामा प्रतिकेजी १० रुपैयाँका दरले छुट दिएको बताउनु भयो । उहाँले लोककल्याणकारी राज्य होस् भनेर सरकारले चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरेको १० वर्ष भएको बताउनु भयो । उहाँले सरकारले खाद्य वस्तुहरुको उपलब्धता सहज रुपमा बनाएको बताउनु भयो । उहाँले घुम्ति पसल पनि सञ्चालन गर्ने तयारीमा रहेको बताउनु भयो ।

काठमाडौं उत्यका भन्दा बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व र रुकुम पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला र महेन्द्रनगर खाद्य व्यवस्थाले सहुलियत पसल राखेको छ । सहुलियत पसलमा साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट पाइनेछ । सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुनेछन् ।