Breaking

कार्यतालिका बनाएर बीआरआई छिटो कार्यान्वयन गर्छौं : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले अघि सारेको बीआरआई परियोजनालाई समयबद्ध कार्यतालिका बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाउने बताएका छन् ।

नेपालमा विकास निर्माणका लागि तीव्र लगानी आवश्यक रहेको र त्यसका लागि बीआरआई अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कार्यान्वयनको कार्यतालिका बनाएर छिटो काम गर्ने बताए । यद्यपि वित्तीय लगानी नीतिमा मसिनो ढंगले छलफल गर्नुपर्ने र चीनले आफ्ना कतिपय नीतिमा पुनर्विचार गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

बीआरआई परियोजना सुरु भएको एक दशक पुगेको अवसरमा नेपाल-चीन फ्रेण्डसिप फोरमले आइतबार काठमाडौंको याक एण्ड यतीमा ‘व्यापार, लगानी र सम्पर्क सन्जाल सम्बन्ध’को विषयमा आयोजना गरेको अन्तर्क्रियामा प्रधानमन्त्री प्रचण्डले उक्त धारणा राखेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘समयबद्ध कार्यतालिका बनाएर छिटो काम गर्नुपर्ने छ । सरकार त्यस दिशामा गम्भीर रुपमा अगाडि बढेको जानकारी गराउँछु ।’ उनले बीआरआई परियोजना कार्यान्वयनका लागि नीतिगत र प्रक्रियागत समस्या हटाउन नेपाल सरकारले पहल गर्ने समेत बताए ।