समाचार

अमेरिकामा खनाललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’


काठमाडौँ – अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका संस्थापक अध्यक्ष र वरिष्ठ लोकदोहोरी गायक एवं पत्रकार रामप्रसाद खनाल अमेरिकाका राष्ट्रपतिद्वारा प्रदान गरिने ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०२३’ बाट सम्मानित भएका छन् ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको विशेष प्रमाणपत्रसहितको पुरस्कार उनले प्राप्त गरेका हुन् । ह्वाइट हाउसका तर्फबाट राष्ट्रपति बाइडेनले लेखेको सम्मानपत्र पनि उनले पाएका छन् ।

खनाल स्वयंसेवीका रूपमा समेत समाजका विभिन्न गतिविधिमा सक्रिय छन् । आफ्नो जीवनकालमा चार हजार घण्टाभन्दा बढी समय स्वयंसेवीका रूपमा योगदान दिनेहरूको उच्च कदर गर्दै राष्ट्रपतिले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने परम्परा छ । विगत चार दशकदेखि गीत-संगीत, साहित्य, कलाकारिता र पत्रकारितामा सक्रिय खनाल विभिन्न व्यवसायमा पनि संलग्न छन् ।

‘एक्स्ट्रा अर्डिनरी’ ग्रीनकार्ड लिएर उनी विगत १७ वर्षदेखि अमेरिकाको भर्जिनिया बसोबास गर्दै आएका छन् । खनालका लोकलय र लोकभाकामा आधारित ५२ गीतिसंग्रह तथा विभिन्न विषयमा लेखिएका १८ पुस्तक प्रकाशित छन् ।