Breaking

महंगी बढ्यो, सरकारको लोकप्रियता घट्यो, बजारभाउ र कालाबजारीको संरक्षक को ?


काठमाडौँ — महत्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा बजार भने उत्तिकै अनियन्त्रित र कालाबजारीको चंगुलमा फस्दा आम जनताको दैनिक झन–झन कष्टकर बनेको छ । आकाशिएको बजारभाउ र महंगीमाथी सांसदले सदनमै व्यङग्य गर्दै सरकारको ध्यानकर्षण गराएका छन । सांसद रघुजी पन्तको यो कविता अहिलेको बजारको वास्तविकता हो । आम सर्वसाधरणको दैनिक भोगाईको प्रतिनिधि हो । सांसद पन्तले मुल्यवृद्धि र कालाबजारीका सवालमा सरकारको ध्यानकर्षण गराएका छन ।

स्वचालित मुल्य प्रणालीका नाममा चाडपर्वको मुखैमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सडक तातिएको केहि दिन नवित्दै आकाशिएको बजार भाउ र कालाबजारीविरुद्ध सदनमा सरकार सांसदहरुको घेराबन्दीमा परेको छ । के सत्तापक्ष के प्रतिपक्ष सबै सांसदले मुल्यवृद्धिबारे सरकारको ध्यानकर्षण गराएका छन । बजारमा मूल्यवृद्धि बढेको तर सरकारको लोकप्रियता घटेको भन्दै सत्तारुढ दलकै सांसदहरुले सरकारको ध्यानकर्षण गराएका छन । कालोबजारी गर्ने र कृत्रिम अभाव गर्नेलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।

महंगी व्यापक बढेको, महंगी नियन्त्रण गर्न सरकारले वास्तै नगरेको आरोप सांसदहरुको छ । सरकार जनतालाई मार्न आएको कि महंगीको मारले मार्न आएको भन्दै सरकारविरुद्ध सांसदहरु खनिन थालेका छन । आकाशिएको बजार भाउ र मुल्य वृद्धिलाई लिएर सडक–सदनमा सरकारको खोजी चलिरहेको छ ।

सरकारको ध्यानकर्षण गराईरहँदा सरकार भने मुखदशक बन्नेभन्दा माथि उठ्न सकिरहेको छैन । जनताको ढाड नै सेकिने गरी बढेको बजारभाउ र कालाबजारीमा सरकार रमिते बनिरहेको छ । बजार अनुगमनमा हेलचेक्राई र प्रभावकारी नबन्दा त्यसको प्रत्यक्ष असर आम उपभोक्तामा परिरहेको छ ।