Breaking

भिडेरै सकिदै ओली–प्रचण्ड, कहाँ हरायो त्यो माया ?, जनयुद्धमाथि ओलीको प्रहार, खनियो माओवादी


काठमाडौँ — कुनै समय हातमा हात र कुममा कुम मिलाएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाएका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सम्बन्ध हाल पानी बाराबारको स्थितिमा छ । ओली र प्रचण्ड सामान्य राजनीतिक शिष्टाचार समेत भुलेर आरोप–प्रत्यारोपमा उत्रिरहेका छन् । चाणक्य नीतिमा भनिएको छ—ज्ञानबाट शब्द बुझिन्छ तर, अर्थ बुझ्न अनुभव चाहिन्छ । राजनीतिक दल र नेताहरूको सम्बन्धको पहेली पत्ता लगाउन कहिलेकाहीँ अनुभव पनि काफी नहुने रहेछ । त्यसको पछिल्लो उदाहरणको रूपमा कम्युनिष्ट ‘स्कुलिङ’बाट प्रशिक्षित केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धको पहेली झन् रहस्यमय बन्ने गरेको छ ।

आरोहअवरोहले भरिपूर्ण कम्युनिष्ट आन्दोलनजस्तै नेताहरूको सम्बन्ध पनि नागबेलीजस्तै छ । नेकपा विभाजनपछि प्रचण्डको नामसमेत सुन्न नचाहेका ओलीले गत पुस १० गते उनै प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए । ओली—प्रचण्डको त्यो मायाप्रेम पनि दुई दिनको घाम छायाँ झैँ भयो । बारम्बार प्रचण्डबाट धोका खाइसकेका ओलीले मंगलवार सदनको रोष्टम उभिएर प्रचण्ड सरकारलाई नालायक भन्न पछि परेनन् ।

सरकारको काम कारबाहीलाई लिएर सत्तारुढ नेपाली कांग्रेसभित्र प्रश्न उठिरहेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेले भ्रष्टाचारका फाइल खोल्छु भनेर ब्ल्याकमेलिङ नगर्न चेतावनी दिएको छ । घृणाबाट सुरू भएको सम्बन्ध छोटो समयको प्रेमसँगै पुनः घृणामा बदलिनुको पछाडि सैद्धान्तिक कारण छन् कि व्यक्तिगत राजनीतिक स्वार्थहरू मात्रै भन्ने प्रश्न खडा भएको छ । प्रचण्ड पनि मौका मिल्दा चुप बस्दैनन् ।

हुन त नेपालका कम्युनिस्ट समूहहरू बीच हरेक स्वार्थमा एकअर्कालाई हेर्ने र परिभाषित गर्ने क्रम चलिरहन्छ । उनीहरू रिस उठ्यो भने एकले अर्कालाई गद्दार, प्रतिक्रियावादीको एजेन्टजस्ता शब्दावलीले गालीगलौज गर्न पछि पर्दैनन् । स्वार्थ मिल्यो भने सबै गाली बिर्सेर गला मिलाउन पनि लाज मान्दैनन् । अहिले ओली—प्रचण्डको सम्बन्धमा यस्तै देखिएको छ । एमाले र माओवादी कुनै हालतमा मिल्न सक्दैनन् भन्नेहरूलाई ओली र प्रचण्डले मिलेर देखाइदिए । यी दुई नेताको रङ फेराईले छेपारो पनि बेलाबेलामा दंग खाने गरेको विश्लेषण हुने गर्छ । उनीहरूको बोली र व्यवहार कतिखेर बदलिन्छ पत्तै हुँदैन ।

ओली र प्रचण्डबीच आरोप प्रत्यारोप चलिरहँदा संसदको सबैभन्दा ठूलो दल कांग्रेस भने रमिता हेरेर बसेको छ । सत्तारुढ गठबन्धन भत्काउन प्रतिपक्ष एमाले मात्रैै होइन, सत्तारुढ दल कांग्रेसकै केही नेतासमेत लागेका छन् । सत्तासमिकरण परिवर्तन हुने बेला ओली र प्रचण्ड फेरि मिल्न पनि सक्छन ।