Breaking

चाडपर्व लक्षित सडक मर्मतका लागि पनि बजेट अभाव छः मन्त्री ज्वाला


काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मत, सम्भारका लागि बजेटको अभाव रहेको बताउनुभएको छ । बजेटको अभावका कारण दशैँअघि नै सडक मर्मत, सम्भार र यातायात व्यवस्थापनको काम भनेजस्तो हुनसक्ने अवस्था नरहेको मन्त्री ज्वालाको भनाई थियो । बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले दशैँलगायतका चाडपर्व अघि नै सडक र यातायात क्षेत्रको उचित व्यवस्थापनका गर्नका लागि प्रक्रियागत झमेला समेत रहेको बताउनु भयो । मन्त्री ज्वालाले भएको सोत र साधनको अधिकतम परिचालन गरी दशैँअघि नै सडक मर्मत र यातायातको आवश्यक व्यवस्था मिलाउनका लागि मातहतका निकायलाई निर्देशन दिइएको पनि बताउनु भयो । उहाँले काठमाडौं उपत्यकाको खाल्डाखुल्डी भने दशैँअघि नै व्यवस्थापन गरिसक्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

मन्त्री ज्वालाले भन्नुभयो, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय चाडपर्व लक्षित यातायात व्यवस्था सहजीकरण र सडक मर्मत सम्भारका लागि गम्भिर छ । अब बजेटको अभाव छ । यहाँहरुलाई जानकारी छ । अव बजेटको अभावले भनेजस्तो नहुन पनि सक्छ । प्रक्रियागत झमेलाहरु पनि छन् । तर भएका स्रोतलाई अत्याधिक प्रयोग गरेर सडक मर्मत गर्ने कुरा, खाल्डाखुल्डी व्यवस्थापन गर्ने कुरा र यातायात सहज गर्ने कुरामा मन्त्रालय गम्भिर छ । दशैँअगाडि चाहीँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने सडकहरुका खाल्डाखुल्डी हामीले व्यवस्थित गरिसक्छांै ।

यो चाहीँ समितिमा हाम्रो कमिटमेन्ट हो । त्यसै अनुसार हामीले निर्देशन दिइरहेका छौं । र, उहाँहरु त्यो काममा लागि सक्नुभएको छ । तर सडक भनेको चाहीँ सबै भौतिक पूर्वाधार मन्त्रालयको मात्रै हो कि भन्ने आम जनताको माझमा परेको छ । अव माननीय ज्युहरुलाई भन्न चाहन्छु–करिडोर अन्तर्गतका सडकहरु शहरी विकास मन्त्रालय अन्तरगत पर्दछ । कतिपय भित्री सडकहरु महानगरपालिका, पालिकाको मातहतका पर्दछन् । त्यसैले म चाहीँ भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पर्ने काठमाडौं उपत्यकाका सडकहरुको खाल्डाखुल्डी हामी व्यवस्थित गरिसक्छौं । र, अलिबढी गम्भिर ढंगले ध्यान दिनुपर्ने मुख्य सडक भनेको नारायणगढदेखि मुग्लिनसम्मको सडक खण्ड हो । पानी परिरहने र पहिरो गईरहने यो सडकमा यो वर्षचाँही यात्रुहरुले धेरै सास्ती भोग्नुपरेन ।

यस वर्ष चाडपर्वका बेला त्यहाँ पहिरो आईहाले त्यसको तत्काल व्यवस्थापन हुनेगरी विशेष व्यवस्था गर्छौं । मन्त्री ज्वालाले दशैँअघि नै बसको टिकटका लागि अग्रिम बुकिङ खुला गर्ने जानकारी दिनुभयो । उहाँले जथाभावी भाडा लिएर यात्रुहरुलाई ठग्ने व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनी समेत दिनुभयो । यात्रुहरुलाई बस भाडामा ठगिन नदिने गरी तीन वटै तहको सरकारले सहकार्य गरेर अनुगमनको कामलाई सशक्त बनाउने उहाँले बताउनु भयो । मन्त्री ज्वालाले दशैँ अघि नै यातायात क्षेत्रको आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायसँग आफूले छलफल गरिसकेको पनि बताउनु भयो ।