Breaking

चाडपर्व लक्षित सडक मर्मतका लागि पनि बजेट अभाव छः मन्त्री ज्वाला

योहो संवाददाता

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मत, सम्भारका लागि बजेटको अभाव रहेको बताउनुभएको छ । बजेटको अभावका कारण दशैँअघि नै सडक मर्मत, सम्भार र यातायात व्यवस्थापनको काम भनेजस्तो हुनसक्ने अवस्था नरहेको मन्त्री ज्वालाको भनाई थियो । बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले दशैँलगायतका चाडपर्व अघि नै सडक र यातायात क्षेत्रको उचित व्यवस्थापनका गर्नका लागि प्रक्रियागत झमेला समेत रहेको बताउनु भयो । मन्त्री ज्वालाले भएको सोत र साधनको अधिकतम परिचालन गरी दशैँअघि नै सडक मर्मत र यातायातको आवश्यक व्यवस्था मिलाउनका लागि मातहतका निकायलाई निर्देशन दिइएको पनि बताउनु भयो । उहाँले काठमाडौं उपत्यकाको खाल्डाखुल्डी भने दशैँअघि नै व्यवस्थापन गरिसक्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

मन्त्री ज्वालाले भन्नुभयो, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय चाडपर्व लक्षित यातायात व्यवस्था सहजीकरण र सडक मर्मत सम्भारका लागि गम्भिर छ । अब बजेटको अभाव छ । यहाँहरुलाई जानकारी छ । अव बजेटको अभावले भनेजस्तो नहुन पनि सक्छ । प्रक्रियागत झमेलाहरु पनि छन् । तर भएका स्रोतलाई अत्याधिक प्रयोग गरेर सडक मर्मत गर्ने कुरा, खाल्डाखुल्डी व्यवस्थापन गर्ने कुरा र यातायात सहज गर्ने कुरामा मन्त्रालय गम्भिर छ । दशैँअगाडि चाहीँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने सडकहरुका खाल्डाखुल्डी हामीले व्यवस्थित गरिसक्छांै ।

यो चाहीँ समितिमा हाम्रो कमिटमेन्ट हो । त्यसै अनुसार हामीले निर्देशन दिइरहेका छौं । र, उहाँहरु त्यो काममा लागि सक्नुभएको छ । तर सडक भनेको चाहीँ सबै भौतिक पूर्वाधार मन्त्रालयको मात्रै हो कि भन्ने आम जनताको माझमा परेको छ । अव माननीय ज्युहरुलाई भन्न चाहन्छु–करिडोर अन्तर्गतका सडकहरु शहरी विकास मन्त्रालय अन्तरगत पर्दछ । कतिपय भित्री सडकहरु महानगरपालिका, पालिकाको मातहतका पर्दछन् । त्यसैले म चाहीँ भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पर्ने काठमाडौं उपत्यकाका सडकहरुको खाल्डाखुल्डी हामी व्यवस्थित गरिसक्छौं । र, अलिबढी गम्भिर ढंगले ध्यान दिनुपर्ने मुख्य सडक भनेको नारायणगढदेखि मुग्लिनसम्मको सडक खण्ड हो । पानी परिरहने र पहिरो गईरहने यो सडकमा यो वर्षचाँही यात्रुहरुले धेरै सास्ती भोग्नुपरेन ।

यस वर्ष चाडपर्वका बेला त्यहाँ पहिरो आईहाले त्यसको तत्काल व्यवस्थापन हुनेगरी विशेष व्यवस्था गर्छौं । मन्त्री ज्वालाले दशैँअघि नै बसको टिकटका लागि अग्रिम बुकिङ खुला गर्ने जानकारी दिनुभयो । उहाँले जथाभावी भाडा लिएर यात्रुहरुलाई ठग्ने व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनी समेत दिनुभयो । यात्रुहरुलाई बस भाडामा ठगिन नदिने गरी तीन वटै तहको सरकारले सहकार्य गरेर अनुगमनको कामलाई सशक्त बनाउने उहाँले बताउनु भयो । मन्त्री ज्वालाले दशैँ अघि नै यातायात क्षेत्रको आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायसँग आफूले छलफल गरिसकेको पनि बताउनु भयो ।