Breaking

भारतको सिक्किममा बाढीले सेनाका गाडी बगाउँदा २३ जना सैनिक वेपत्ता


काठमाडौँ– भारतको सिक्किममा टिस्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक वेपत्ता भएका छन् । भारतको उत्तरी सिक्किमस्थित टिस्टा नदीमा आज बिहान आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् । वेपत्ता सैनिकहरुको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् । बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको छ । चुङथाङमा पानीको सतह १५ देखि २० फिट बढेको र आएको बाढीले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने मेल्लीमा अवस्थित हाइवेको केही भाग समेत बगाएको छ । सिक्किमको राजधानी गान्तोकबाट करिब ३० किलोमिटर टाढा रहेको सिङ्ताम सहरको इन्द्रेणी पुल पनि बाढीले बगाएको हो । बाढीले बगाएको सेनाका गाडी सिङ्ताम नजिकै रहेको बर्दाङमा पार्किङमा रहेको बताइएको छ । सिङ्ताङमा क्लाउड ब्रस्ट भएसँगै बाढीको चेतावनी जारी गरिएको बताइएको छ ।