Breaking

भूकम्पका कारण बझाङमा दुई जना घाइते


काठमाडौँ– मंगलबार दिउँसो गएको भूकम्पका कारण बझाङमा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी भरतबहादुर शाहले जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको प्रारम्भिक जानकारी आएको जानकारी दिए ।

स्थानीय बासिन्दाले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराएपनि उनीहरुको परिचय र अवस्था भने नखुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए । भूकम्पका कारण ठाउँ÷ठाउँमा भवनहरु भत्किएको खबर आइरहेपनि विस्तृत विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । तलकोट गाउँपालिका–१ को सुनिकोट माध्यमिक विद्यालय, जयपृथ्वी नगरपालिका–१० को सत्यवादी माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालयको भवन चर्किएको छ । भूकम्पसँगै आएको सुक्खा पहिरो जादा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार सडक माथिबाट पहिरो जादा जयपृथ्वी नगरपालिका–७ को कचरी खोलामा राजमार्ग अवरुद्ध भएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले परकम्प आउने क्रम जारी रहेका कारण सडक खुलाउन नसकिएको बताए । पाण्डेयले सडक खुलाउन डोजर लगायतका उपकरण तयारी अवस्थामा राखिएको बताए । उनले जिल्लामा अहिलेसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको बताउदै सूचना संकलनको काम भइरहेको जानकारी दिए ।