समाचार

ढोरपाटनमा ८ नाउर र ४ झारल मार्न अनुमति, एउटा नाउर शिकार गर्न २० लाख


काठमाडौँ – नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा यो वर्षको पहिलो शिकार याम सुरू भएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो शिकारयाम असोज–मङ्सिरका लागि आठ नाउर र चार झारलको शिकार गर्न अनुमति दिएको छ । यस्तै शिकार आरक्षले आठ बँदेलका लागि शिकार खेल्न अनुमति प्रदान गरेको छ ।

ढोरपाटन शिकार आरक्ष कार्यालयका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापामगरले यो वर्षको पहिलो शिकारयाम सुरू भएको बताए । उनका अनुसार अनुमति पाएका शिकारीले नाउर, झारल र बँदेल शिकार गर्न यही असोज १७ गतेदेखि मङ्सिरको पहिलो सातासम्म आरक्ष खुला गरिएको छ ।

यो शिकारयाममा आठ नाउर, चार झारल र आठ बँदेलको शिकार खेल्न विभागले अनुमति दिइसकेको छ, अहिले विदेशी शिकारी आरक्षतर्फ आउने तयारीमा छन्’, उनले भने, ‘यो वर्ष आरक्षमा सूचीकृत आठ कम्पनीमार्फत जर्मन, अमेरिका, रसिया र बेलारुसका शिकारीले शिकार खेल्न अनुमति पाइसकेका छन् ।’

यो वर्ष प्रतिस्पर्धामा अमेरिकाका मात्रै पाँच शिकारी आउने भएका हुन् । उनीहरूले बन्दोबस्तीका सामग्रीमार्फत असोज १७ गतेपछि ढोरपाटन शिकार आरक्षमा वैधानिकरूपमा आफूले प्राप्त गरेको कोटाका आधारमा शिकार खेल्न सक्नेछन् । शिकार खेल्न नेपाली सहयोगीसहित आरक्षका कर्मचारीसमेत विदेशी शिकारीको साथमा खटिन्छन् ।

शिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्गनिर्देशनका लागि ढोरपाटन शिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र शिकारीका भरिया सम्बन्धित ‘ब्लक’मा पठाउनका लागि तयारी अवस्थामा राखिएको संरक्षण अधिकृत थापामगरले बताए । विभागले हरेक वर्ष नाउर र झारलका लागि कोटा निर्धारण गरेको हुन्छ ।

पहिलो याममा अमेरिकाका पाँच शिकारी, जर्मनी, रसिया र बुलरियाका एक–एक शिकारी शिकार खेल्नका लागि अनुमति पाएका हुन् । विभागले बोलपत्रमार्फत विश्वका धनाढ्य शिकारीबीच प्रतिस्पर्धा गराएर शिकार खेल्न अनुमति दिने गरेको छ । बोलपत्रमार्फत एउटै नाउर शिकार खेल्न शिकारीले १० देखि २० लाख रुपैयाँसम्म तिर्ने गरेको पाइन्छ ।

शिकारका लागि आरक्ष क्षेत्रलाई सात ब्लकमा विभाजन गरिएको छ। ढोरपाटन क्षेत्रमा बर्सेनी (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा शिकार हुँदै आएको छ । खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’मा शिकार खेल्न रुचि राख्ने गरेको शिकार आरक्ष कार्यालयको भनाइ छ।

विदेशी शिकारीसहितको समूहले १५ दिन जङ्गलमै समय बिताउँछन् । १५ दिनमा शिकार खेल्न नसके शिकारी खाली हात फर्कनुपर्ने आरक्षको नियम छ । विभागले हरेक शिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजस्व दर निर्धारण गर्छ ।

साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । नाउर, झारलको मूल्य, ब्लक रिजर्भ, अनुमतिपत्र, हेलिकोप्टर सबै बन्दोबस्तीका सामग्री तयार गर्दा एक शिकारीले करिब २० लाखसम्म खर्च गर्ने गरेको ढोरपाटन शिकार आरक्ष कार्यालयले जनाएको छ ।

२०४४ सालमा स्थापना भएको शिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भए पनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ। शिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाको गुल्मसमेत स्थापना भएको हो ।