Breaking

भारतले दियो नेपाललाई २०३ रनको चुनौतीपूर्ण लक्ष्य


काठमाडौँ – चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरूष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ ।

हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको हो ।

भारतका लागि ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे । सर्वाधिक रन बनाएका जैसवालले ४९ बल खेल्दै ८ चौका र ७ छक्का मद्दतमा १०० रन बनाए ।

जैसवालले कप्तान रूतुराज गाएकवाडसँग पहिलो विकेटका लागि शतकीय साझेदारी गर्दै सानदार सुरूआत दिलाएका थिए ।

पहिलो विकेटका लागि यो जोडीले १०३ रनको साझेदारी गरेका थिए । भारतले पावर प्लेमै विना क्षति ६३ रन बनाएको थियो ।

दीपेन्द्रसिंह ऐरीले १०औं ओभरमा उक्त साझेदारी तोड्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । दीपेन्द्रले भारतका कप्तान रूतुराज गाएकवार्डलाई १०औं ओभरको पाँचौ बलमा कप्तान रोहितबाट डिप मिडविकेटमा क्याचआउट गराए ।

गाएकवाडले २५ बल खेल्दै ४ चौका मद्दतमा २३ रन बनाए । त्यसपछि नेपालका सोमपाल कामीले भारतका तिलक वर्मालाई १२औं ओभरको चौथो बलमा बोल्ड गर्दै दोस्रो सफलता दिलाए । तेस्रो नम्बरमा ब्याटिङ गरेका तिलक १० बलमा २ रन बनाएर आउट भए ।

लगत्तै १३औं ओभरको पाँचौ बलमा सन्दीप लामिछानेले भारतका जितेश शर्मालाई कट एण्ड बोल्ड गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका थिए । भारतका लागि शतक प्रहार गरेका जैसवाललाई दीपेन्द्रले १७औं ओभरको दोस्रो बलमा अभिनाश बोहराबाट क्याचआउट गराए ।

तर त्यसपछि शिवम दुवे र रिंक सिंहले आक्रमक ब्याटिङ गर्दै भारतको स्कोरलाई २०० कटाएका थिए । रिंकुले नटआउट ३७ र शिवम दुवेले नटआउट २५ रन बनाए । रिंकुले १५ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । १ विकेट लिएका सन्दीपले ३ ओभरमा २८ रन खर्चिए।